ब्रसल्स हमलामा संलग्न दुईजना संदिग्धको पहिचान

  • 23 मार्च 2016
तस्वीर कपीराइट

ब्रसल्समा मंगलबार हमलाहरु गरेका तीनजना मध्ये दुईजना आत्मघाती बमहमलाकारीहरुको पहिचान खुलेको बेल्जियमका अभियोजनकर्ताहरुले पुष्टि गरेका छन्।

ति हमलाहरुमा संलग्न तर जीवीतै रहेका हमलाकारी भने अझै फरार रहेका अधिकारीहरुको भनाई छ। पहिचान खुलेका दुवैजना हमलाकारी बेल्जियमका नागरिक रहेको बताइएको छ।

ब्रसल्समा हमला गर्ने दुईजना आत्मघाती हमलाकारीहरु दाजुभाई रहेका र तिनीहरु खालिद र ब्राहिम एल बाक्राउइ भएका बताइएको छ।

संघीय अभियोजनकर्ताका अनुसार ब्राहिम ११ जनाको ज्यान जाने गरी जावेन्टेम विमानस्थलमा भएको हमलामा संलग्न थिए।

खालिदले मालबेक मेट्रो स्टेशनमा हमला गरेका थिए जस्मा २० जना मारिएका थिए।

खोजी

तस्वीर कपीराइट Belgian police

सबै घटनामा २६० जना घाइते भएका छन्। प्रहरीले विमानस्थलको सीसीटिभी फुटेजमा देखिएका तेस्रो व्यक्तिको खोजी गरिरहेको छ।

बुधबार आतंकवाद विरोधी प्रहरीले शहरको एण्डरलेख्ट क्षेत्रमा छापा मारेको थियो र त्यसक्रममा एकजनालाई गिरफ्तार गरिएको छ।

गिरफ्तार गरिएका ति व्यक्ति, स्थानीय संचार माध्यमले जनाए अनुसार प्रहरीले खोजी गरिरहेको तेस्रो संदिग्ध हमलाकारी नजीम लाच्राउइ भने नभएको संघीय अभियोजनकर्ताले बताएका छन्।

पक्राउ परेका व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन।

यसैबीच, पहिलोपल्ट मंगलबारको हमलामा मारिएकामध्य एकजनाको नाम सार्वजनिक गरिएको छ।

पेरुकी ति ३७ बर्षिया महिला एडेल्मा तापिया रुइज हुन्।

उनी जावेन्तेम विमानस्थलमा आफ्ना बेल्जियन पति र चार बर्षका जुम्लाहा छोरीहरुका साथ थिइन्। तिनीहरुलाई भने चोट नलागेको बताइएको छ।

शोक

मंगलबारको घटनाप्रति बेल्जियमले तीन दिन राष्ट्रिय शोक मनाउने भएको छ।

बुधबार स्थानीय समय अनुसार मध्यान्हमा एक मिनेट मौन धारण गरिएको थियो।

आफूलाई इस्लामिक स्टेट भन्ने समूहले मंगलबारको हमलाको जीम्मेवारी दावी गरेको छ र त्यस्तै खाले हमलाहरु फेरी पनि गर्ने चेतावनी दिएको छ।

बेल्जियममा सुरक्षा चेतावनीको स्तरलाई उच्चतम स्तरमा नै राखिएको छ र त्यहांको अन्तर्राष्ट्रिय विमानस्थल विहीबार पनि बन्द नै रहने छ।

बुधबार नै बेल्जियमका प्रधानमन्त्री शालमिशेलले ब्रसल्समा आफ्ना फ्रान्सेली समकक्षी मानुएल भाल्सलाई स्वागत गर्दै युरोपको भविष्य भनेको शान्ति र सुरक्षा नै भएकोमा जोड दिएका थिए।