इन्धन सम्झौता टुंगोमा पुर्याउने सहमति

  • 23 मार्च 2016
तस्वीर कपीराइट EPA

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको राजधानी बेइजिंग बसाइको अन्तिम दिन बुधबार जारी संयुक्त वक्तव्यमा बहुप्रचारित इन्धन सम्झौता टुंगोमा पुर्याउन दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ।

१५ बुंदे संयुक्त वक्तव्यको ८ नम्बर बुंदामा इन्धनको व्यापारिक खरिदको सम्झौतालाई टुंगोमा पुर्याउन मूल्य, कर, गुणस्तर नियन्त्रण, आपूर्तिबारे परामर्श तीव्र पार्न मातहतका निकायलाई प्रोत्साहन गरिएको उल्लेख छ।

रेलवे

रेलसेवा विस्तार, तेल भण्डारणस्थल बनाउन चिनियां सहयोगदेखि लिएर सौर्य बत्ती उपलब्ध गराउने सम्मका विषय छन्।

नेपालको सीमासम्म सन् २०२० सम्म आइपुग्ने रेललाई काठमाण्डू हुंदै पोखरा र लुम्बिनी पुर्याउन सहयोग गरिदिन नेपाली पक्षले आग्रह गरेको थियो जसलाई चिनियां पक्षले सकारात्मक रुपमा लिएको बताइएको छ।

यसैगरी चिनियां पक्षले ऐतिहासिक प्रगति भन्दै नेपालको संविधानको स्वागत गरेको छ।

दुई देशको सम्बन्ध नयां उचाइमा पुगेको भन्दै संयुक्त वक्तव्यमा नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको उल्लेख छ।

अरनिको राजमार्ग र स्याप्रुबेसी-रसुवागढी राजमार्ग मर्मत र खुला गर्ने योजनाको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने पनि सहमति बनेको छ।

अन्तरदेशीय रेलसेवा विस्तारबारे सम्बन्धित निकायहरुले प्रस्ताव र धारणा आदानप्रदान गर्ने सहमति पनि वक्तव्यमा उल्लेख छ।

पुनर्निर्माण

तस्वीर कपीराइट Reuters
Image caption नेपाल र चीनबीच इन्धन सम्झौताप्रति काठमाण्डूमा निकै चासो रहेको छ

चीनले आफूले घोषणा गरेको तीन अर्ब युआन बराबरको पुनर्निर्माण सहयोग कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ।

चिनियां पक्षले ३२ हजार थान घरेलु सौर्य उर्जा उत्पादन गर्ने प्रणाली पनि नेपाललाई उपलब्ध गराउने भएको छ।

यसैगरी सुपुर्दगी सन्धि र आपसी कानुनी सहायतासम्बन्धी सम्झौताका लागि छलफल गर्न दुवै पक्ष तयार भएका छन्।

चिनियां बैंकको शाखा नेपालमा खोल्न चीनले समर्थन गर्ने पनि जनाइएको छ।

प्रधानमन्त्री ओली बुधबारै बेइजिंगबाट सान्य शहरका लागि प्रस्थान गरेका छन्। त्यहांबाट बिहीबार उनी नजिकैको बोआओ शहर द्रुत रेल चढेर जानेछन् र बोआओ आर्थिक मञ्चमा सहभागी हुनेछन्।

बिहीबारै सियान पुग्ने प्रधानमन्त्रीले त्यहां पर्सि शुक्रबार लगानी प्रवर्द्धन गोष्ठीमा सहभागी हुनुका साथै सियान चिकित्सा विश्वविद्यालयको भ्रमण गर्ने कार्यतालिका छ।

अवलोकन

शुक्रबार सिचुवानको चेङ्दु पुग्ने प्रधानमन्त्री ओलीले त्यहांकै वेनचुवानमा भूकम्पपछिको पुनर्निर्माणस्थलको अवलोकन गर्नेछन्।

वेनचुवानलाई केन्द्रविन्दु बनाइ सन् २००८ मा गएको भूकम्पका कारण सिचुवानमा ज्यान गुमाउने र हराउनेहरुको संख्या करिब ९० हजार थियो भने अर्बौं रुपैयांको व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो।

त्यसयता पुनर्निर्माण र भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि उदाहरणीय मानिने सिचुवानको काम हेर्न नेपाली सरकारी टोली त्यहां जान लागेको हो।

आइतबार बिहान पनि सिचुवानमा केही कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली त्यही दिन दिउंसो नेपाल प्रस्थान गर्नेछन्।