संदिग्धमाथि आंतकवादी आक्रमणको अभियोग

  • 27 मार्च 2016
तस्वीर कपीराइट AFP

बेल्जियमका अभियोजनकर्ताहरुले ब्रसल्समा मंगलबार गराइएका बम आक्रमणका एकजना संदिग्धमाथि आंतकवादी आक्रमण गराएको अभियोग लगाएका छन्।

गत मंगलबार एउटा विमानस्थल र मेट्रो स्टेशनमा गराइएको बम विष्फोटमा ३१ जनाको ज्यान गएको थियो।

अभियोग लगाइएका व्यक्तिको नाम फैसल सी भएको बताइएको छ।

मंगलबारको आक्रमणमा मारिनेमध्ये आधाजति विमानस्थलको विष्फोटमा परेका थिए।

जिम्मेवारी

आक्रमणको तथाकथित इस्लामिक स्टेटले जिम्मेवारी दाबी गरेको थियो।

अधिकारीहरुले आक्रमण गरिएको जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारअघि नखुल्ने बताएका छन्।

यसैबीच, मंगलबारको आक्रमणको विरोधमा केन्द्रीय ब्रसल्समा आइतबार गर्ने भनिएको प्रदर्शन अधिकारीहरुको आग्रहपछि आयोजकहरुले स्थगित गरेका छन्।

आयोजकहरुले आमनागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताएका छन्।

खानतलासी

तस्वीर कपीराइट Getty

अधिकारीहरुका अनुसार ब्रसल्सस्थित अभियोजनकर्ताको कार्यालय अगाडि गत बिहिबार फैसल सीलाई पक्राउ गरिएको थियो।

उनको घरमा खानतलासी गरिएपनि कुनै हातहतियार फेला नपरेको अधिकारीहरुले बताएका छन्।

बेल्जियम, फ्रान्स र जर्मनीमा गत बिहिबार र शुक्रबार पक्राउ परेका १२ जनामध्ये फैसल सी एक हुन्।

अभियोजनकर्ताहरुद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ, “फैसल सीमाथि एउटा आतंकवादी समूहको क्रियाकलापमा संलग्न भएको, आतंकवादी हत्या गरेको र आतंकवादी हत्याको प्रयास गरेको अभियोग लगाइएको छ।”