सुरक्षा निकायबीच सयोजन बलियो हुनुपर्छ: शरीफ

  • 28 मार्च 2016
तस्वीर कपीराइट AP

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आतंकवादका विरुद्ध देशका विभिन्न सुरक्षा निकायहरुबीचको आपसी संयोजन बलियो हुनुपर्ने बताएका छन्।

आइतबार लहोर शहरमा भएको बम हमलाको भोलिपल्ट बसेको बैठकमा सुरक्षा अधिकारीहरुलाई सम्बोधन गर्दै उनले त्यस्तो कुरा बताएका हुन्।

उग्रवादीहरु विरुद्ध लड्नुपर्छ भन्ने भावना देशमा सुदृढ हुंदै गैरहेको उनको भनाई थियो।

प्रधानमन्त्री नवाज शरीफले आइतबार लहोरस्थित एउटा पार्कमा सत्तरीजना भन्दा बढीको ज्यान जाने गरी भएको बम हमलाका घाइतेहरु मध्ये केहिलाई अस्पतालमा गएर भेटेका थिए।

त्यसपछि बसेको सुरक्षा बैठकमा बोल्दै उनले आतंकवादलाई पराजीत गर्नु जरुरी रहेको बताएका थिए।

जोड

उनले, आतंकवादीहरुले आक्रमण गर्नु अघि नै सुरक्षासैन्य तिनीहरुमाथि हमला गर्न सक्नु पर्नेमा पनि जोड दिएका थिए।

उनले आफूले कानून लागु गर्ने र गुप्तचर निकायहरुबीच अझ सकृय संयोजन भएको हेर्न चाहेको बताए।

तस्वीर कपीराइट AFP

त्यसैबीच, लहोर, मुल्तान र फैसलाबादमा सुरक्षा सैन्यले गरेका विभिन्न कार्वाहीका क्रममा केहि गिरफ्तारीहरु गरिएको र ठूलो मात्रामा हतियार र गोली गठ्ठा फेला पारिएको सेनाले जनाएको छ।

तालेवानबाट टुक्रिएर गएको एउटा समुह जमात उल अहररले इस्टर पर्व मनाइरहेका ईशाईहरुलाई निशाना बनाएर बम हमला गरिएको दावी गरेको छ।

तर सो हमलामा मारिएकाहरु मध्ये धेरै जसो मुसलमानहरु रहेको अधिकाहिरुले बताएका छन्।

शोक

लहोर राजधानी भएको पंजाब प्रान्तको सरकारले सहरमा आपतकालीन अवस्थाको घोषणा गर्दै तीन दिन शोक मनाइने जनाएको छ।

अन्य क्षेत्रमा एक दिन शोक मनाइनेछ। सो प्रान्तमा सोमबारका दिन विद्यालय तथा बजारहरु बन्द रहे।

तस्वीर कपीराइट EPA

पाकिस्तानमा ईशाई र हिन्दूहरु ठूला अल्पसंख्यक समुदायहरु हुन् र दुवै समुदाय प्रत्येकले देशको जनसंख्याको एक दशमलव ६ प्रतिशतको प्रतिनिधित्व गर्छन्।

क्याथोलिक ईशाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सीसले देशका धार्मिक अल्पसंख्यकहरुकोरक्षा गर्न पाकिस्तानलाई आह्वान पनि गरेका छन्।

हालैका बर्षहरुमा ईशाईहरुको गाउं, गिर्जाघर र अस्पतालहरुमा समेत बम तथा अन्य हमलाहरुमा वृद्धि भैरहेको छ।

सन् २०१३ मा पेशावरमा भएको दुईवटा बम हमलामा कम्तीमा असी जनाको ज्यान गएको थियो।