राप्रपा नेपालमा अध्यक्ष-सहअध्यक्ष टकराव

  • 29 मार्च 2016
तस्वीर कपीराइट RPP NEPAL
Image caption राप्रपा नेपाल सरकारमा तेश्रो र संसदमा चौथो ठूलो दल हो

संसदमा चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संस्थापन पक्षले सहअध्यक्ष केशरबहादुर विष्टद्वार सार्वजनिक रुपमा लगाइएका आरोपको प्रतिवाद गर्दै सरकारबाट फिर्ता हुनु पर्ने उनको आग्रह अस्वीकार गरेको छ।

उक्त दलभित्र विवाद र असन्तुष्टि झाँगिएको चर्चाका माझ पार्टी अध्यक्ष कमल थापा केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीति प्रतिवेदनको तयारीमा जुटेका भनिएकै बेला पार्टीभित्र दोश्रो वरियताका विष्टले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका हुन्।

विज्ञप्तिमा उनले पार्टीलाई 'संस्थागत परिपार्टीमा चलाउन, व्यक्तिको असीमित आडम्बर र मनपरिबाट जोगाउन, नेता-कार्यकर्तालाई दास-दलालको पहिचानवाट..., भिन्न विचारलाई कदर गर्ने प्रजातान्त्रिक चरित्र' को बनाउन आग्रह गरेका छन्, जसलाई अध्यक्ष थापा लक्षित कटाक्ष ठानिएको छ।

असान्दर्भिक

विष्टले सरकारमा अध्यक्ष थापा नेतृत्वको सहभागिता अन्त्यको अपेक्षा गर्दै भनेका छन्, “राप्रपा नेपालले असान्दर्भिक सरकारमा बसाई गरिरहनु उपयुक्त छैन।”

तर अध्यक्ष थापा निकट मानिने उपाध्यक्ष राजीव पराजुलीले त्यो सम्भावना नरहेको बताउँदै भने, "पार्टीको नीति र निर्णय बेगर उहाँले त्यसो भन्न पाउनु हुन्न, केशरबहादुरले निजी रुपमा भन्दैमा सरकार छाड्ने कुरा पनि भएन्।"

विष्टले बीबीसीसँग कुरा गर्दै राप्रपासँग भइरहेको पार्टी एकताको प्रयासप्रति पनि असन्तुष्टि प्रकट गरेका छन्।

तस्वीर कपीराइट embassy of india
Image caption सरकारमा उपप्रधानमन्त्री थापाको काम कारवाहीलाई प्रभावकारी रुपमा हेरिएको छ

खासगरी एकीकृत पार्टीको आफै अध्यक्ष हुनु पर्ने लोभ थापामा रहेको र त्यो नै एकताको बाधक बन्ने बुझाई विष्ट पक्षमा पाइन्छ।

तर राप्रपा नेपालको वार्ता समिति संयोजक पराजुलीले चैतभित्र एकता प्रक्रिया पुरा गरी वैशाख १ गते घोषणा गर्ने लक्ष्यका साथ वार्ता भइरहेको बताए।

मुद्दाको टुंगो

उनले भने, "समान हैसियतमा दुबै पार्टीबीच एकता गर्ने सहमति भाछ, को कहाँ बस्ने कल्ले अध्यक्षता गर्ने वा समान हैसियत दिने भन्ने कुरा निर्णय हुन बाँकी छ। वार्ता एकदम सकारात्मक रुपमा अघि बढेको छ।"

उनका अनुसार प्रमुख राजनीतिक मुद्दामा पनि वार्ता टोली तहमा सहमति भइसकेको छ।

राप्रपा हिन्दु राष्ट्र हुनु पर्नेमा सहमत रहेको बताउँदै नेता पराजुलीले संवैधानिक राजतन्त्रबारे संयुक्त महाधिवेशनले दिने निर्णय गर्ने मान्ने कुरा भएको जनाए।

उक्त दलमा अध्यक्ष थापा र सहअध्यक्ष विष्टबीच टकराव यतिसम्म बढेको देखिन्छ कि विष्टले वीरगञ्जमा १८ र १९ गते हुने केन्द्रीय समितिको बैठकबारे जानकारी नपाएको भन्दै सहभागी नहुनेसम्मको संकेत दिएका छन्।

तर संस्थापन पक्षले बैठकबारे सबैलाई जानकारी गराइएको बताएको छ।

त्यसको अर्थ विष्ट पार्टीबाट अलग्गिन लागेका हुन्? उनले त्यसको जवाफ भने प्रष्ट रुपमा दिएनन्।