‘एकल इन्जिन विमान सञ्चालक मर्कामा’

  • 29 मार्च 2016
एउटा मात्र इन्जिन भएको एयर काष्ठमण्डपको विमान तस्वीर कपीराइट .
Image caption उड्यन सुरक्षामा कुनै सम्झौता गर्न नहुने नागरिक उड्यनका जानकारहरु बताउछन्।

सरकारद्वारा यात्रु बोक्न प्रतिवन्ध लगाइएको एउटा मात्र इन्जिन भएको विमान सुरक्षित नै रहेको भन्दै विमान कम्पनीहरुले उक्त निर्णय फिर्ता लिन माग गरेका छन्।

केही साताअघि एकल इन्जिनजडित एअर काष्ठमण्डपको एक विमान मध्यपश्चिम पहाडको कालीकोटमा दुर्घटना भएपछि सरकारले एकल इन्जिन जहाजलाई यात्रु बोक्न प्रतिवन्ध लगाएको थियो।

तर व्यवसायीहरुको भनाइ छ एउटा विमान दुर्घटना भएकै भरमा गरिएको सरकारी निर्णय फिर्ता नभए व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने र त्यसले पश्चिम नेपालका पहाडी जिल्लाहरुमा असर पर्नेछ।

निर्णय

हालका लागि कार्गो मात्र बोक्ने अनुमति दिइएका यस्ता जहाजहरुको दीर्घकालिन संचालनका बारेमा यही हप्ताभित्र अन्तिम निर्णय लिइने सरकारी भनाइ छ।

प्रतिवन्ध यता कार्गोमात्रै बोक्दै आएका यस्ता विमानका संचालकहरुले यात्रु बोक्न पाउनुपर्ने माग सरकारसँग गरेका छन्।

संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रीलाई समेत भेटेका उनीहरुले यात्रु बोक्न नपाए व्यवसाय बन्द गर्ने अवस्था आउने जनाएका छन्।

काष्ठमण्डप एयरका बजार निर्देशक शैलेन्द्र श्रेष्ठले भने, "बिना यात्रु त हामीलाई धेरै गार्हो हुन्छ, कार्गो एकतर्फी मात्र पाउछ त्यसले मात्रै एयरलाईन्स सञ्चालन गर्ने गार्हो हुन्छ, कर्मचारी कटौती गर्नेदेखि बन्द गर्ने स्थिती आउछ।"

हालसम्म दुर्घटना भएका विमान र त्यसबाट भएको मानवीय क्षतिमा एउटामात्र इन्जिन भएका विमानको संख्या निकै न्युन रहेको उनीहरुको तर्क छ।

उडानका लागी महत्वपुर्ण उपकरण रहेका र विकट क्षेत्रमा सेवा पूर्याउदै आएका यस्ता विमानहरुलाई यात्रु बोक्न प्रतिवन्ध लगाउनु गलत निर्णय भएको उनीहरुको भनाइ छ।

गोमा एयरका नियमाङकन निर्देशक रमेशकुमार सिंह बन्द गर्नु समाधान नभएको भन्दै सुधारका उपाए खोज्नुपर्ने बताउछन।

उनले भने, "बरु तालिममा र आपतकालिन व्यवस्थालाई सुधार गरौं, आज एउटा ईन्जन भएका जहाज दुर्घटना भयो भन्दै बन्द गरिए कुनै दिन दुईवटा ईन्जन भएका जहाज दुर्घटना भयो भने के ती विमान पनि बन्द गर्ने?”

“बन्द गर्नु समाधान हैन त्यसको उपचार तिर लाग्नु पर्छ भन्ने हाम्रो भनाई हो।"

उडान

हाल नेपालमा काष्ठमण्डप, गोमा र मकालु गरी तीनवटा एयरलाइन्ससंग एउटा मात्र इन्जिन भएका ५ वटा विमान छन।

तिनले जहाजले सडक यातायात प्रभावकारी नभएका कर्णाली अंचल र आसपासका जिल्लाहरुमा यात्रु र कार्गो बोक्दै आएका थिए।

सरकारी निर्णयपछि कार्गोमात्रै बोक्दै आएका यस्ता विमानहरुलाई दिर्घकालमा के गर्ने भन्ने बारेमा अध्ययन गर्न संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बनाएको समितिले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ।

समितिका संयोजक सहसचिव बुद्धिसागर लामीछानेले सो प्रतिवदेनका आधारमा केही दिनमै निर्णय लिइने बताउछन्।

उनले भने, "कार्गोका लागि यात्रीका लागि जसकालागि अनुमति दिने भए पनि सुरक्षा लगायतका सबै पक्षलाई ध्यानमा राखेर प्रतिवेदन बनाएका छौं, यसलाई छिट्टौ टुङग्याउन कुरामा मन्त्री नै आतुर हुनुहुन्छ।"

संचालकहरुले माग गरे अनुरुप यात्रु बोक्न दिने मनसायमा सरकार देखिएको छैन।

एउटामात्र इन्जिन भएका थप विमान भित्र्याउन नदिने र भएकाहरुलाई कार्गोमात्र बोक्न दिने संकेत मन्त्रालयका अधिकारीहरुले गरेका छन्।