ब्रजिलकी राष्ट्रपति संकटमा

  • 30 मार्च 2016
petrobras तस्वीर कपीराइट AFP
Image caption तेल कम्पनी पेट्रोब्रासमा भएको भनिएको घोटालामा राष्ट्रपति रुसेफको पनि संलग्नता रहेको आरोप लागेको छ

ब्रजिलमा देशको सबैभन्दा ठूलो दलले राष्ट्रपति जिल्मा रुसेफको सरकारबाट अलग हुने निर्णय गरेको छ।

त्यसको अर्थ भ्रष्टाचारको आरोपमाझ देशकी पहिलो महिला राष्ट्रपतिले महाभियोगको सामना गर्नुपर्ने हुनसक्छ।

महाभियोग

ब्रजिलको बढ्दो व्यापार घाटाबारे विवरणहरु लुकाउन हिसाब किताब बढाइचढाइ गरेको भन्ने आरोप खेपिरहेकी रुसेफले त्यसलाई देखाउँदै उनीमाथि महाभियोग लगाउन भएको प्रयास विरुद्ध संघर्ष गरिरहेकी छन्।

तर अब उक्त संघर्ष थप कष्टकर बनेको मात्र छैन्, असम्भव नै बन्न सक्ने देखिन्छ।

उनको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल ब्रजिलियन डेमोक्रेटिक मुभमेन्ट पार्टीको मात्र तीन मिनेट बसेको एउटा संक्षिप्त बैठकले सरकारबाट अलग्गिने निर्णय गरेको छ।

उक्त दलका उपनेता लियोनार्दो किंग्तो ले समर्थन फिर्ता लिनुपरेको कारणबारे भने, “ब्रजिलका सबै उत्पादन क्षेत्र र वित्तीय क्षेत्रले राष्ट्रपति रुसेफप्रतिको समर्थन फिर्ता लिएको समाचार जारी गरेका छन्।किनकी राष्ट्रपतिको गलत नीतिका कारण गत वर्षमात्रै ब्रजिलमा १५ लाख मानिसले रोजगारी गुमाए।"

विवाद

समर्थन फिर्ता लिनुको अर्थ राष्ट्रपति रुसेफलाई चाँडोमा आगामी मे महिनाभित्रै ‘कंग्रेस’ले राष्ट्रपतिको पदबाट निलम्बित गर्नेछ र उनले सत्ता छोड्नुपर्ने निर्णय ‘सिनेट’ले अनुमोदन गरे हालका उपराष्ट्रपति मिसेल टेमर रुसेफका उत्तराधिकारी बन्नेछन्।

देशकै सबैभन्दा ठूलो भ्रष्टाचारको विवादको समाना गरिरहेको ब्रजिलका लागि पछिल्लो राजनीतिक विकासक्रमलाई नाटकीय रुपमा अर्थ्याइएको छ।

‘अप्रेशन कार वास’ नाम दिइएको लामो समयदेखि चलिरहेको एउटा जाँचले भ्रष्टाचार र अकूत कालो धनलाई वैध बनाएको आरोपमा राज्य नियन्त्रित इन्धन कम्पनी ‘पेट्रोब्रास’मा छानविन गरिरहेको छ।