आकाशेपुल खस्दा कोलकातामा १८ को मृत्यु

  • 31 मार्च 2016
Image caption यो आकाशेपुल मुनी मानिसहरु अस्थायी घरहरु बनाएर बसिरहेको बताइएको छ

पूर्वी भारतको कोलकाता सहरमा निर्माणाधीन एउटा आकाशे पुल खस्दा कम्तीमा १८ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्।

सिमेन्ट र फलामको पुल व्यस्त सडकमा झर्दा धेरै मानिसहरु फसेका छन्।

तस्वीरहरुमा देखिए अनुसार त्यहाँका बासिन्दाहरुले खाली हातबाट उद्धारकार्यमा मद्दत गरिरहेका छन्।

अवस्था

दुर्घटना कोलकाताकै धेरै जनसंख्या भएको क्षेत्रमा भएको छ जहाँका सडकहरु निकै साँघुरा छन् र त्यहाँ पसल र घरहरु नजिकै बनेका छन्।

खसेको उक्त आकाशे पुलले हिँडिरहेका व्यक्तिहरु कार लोरी र नजिकैका भवनहरुलाई थिचेको थियो।

उक्त आकाशेपुल मुनी मानिसहरु अस्थायी घरहरु बनाएर बसिरहेको बताइएको छ।

२ किलोमिटर लामो उक्त पुल सन् २००९ देखि निर्माणाधीन छ ।

रोयटर्स समाचार संस्थाले जनाए अनुसार उक्त आयोजनाले धेरैपटक निर्माण सक्नुपर्ने समायावधी नघाइसकेको छ।

उद्धार कार्य

प्रत्यक्षदर्शी रमेश केजरीवालले रोयटर्स समाचार संस्थालाई त्यहाँ ठूलो आवाज आएको र त्यसले आफूहरुलाई त्रसित बनाएको बताए।

उक्त पुलमा अघिल्लो राति सिमेन्टको मसला राखिएको उनले बताए।

एएफपी समाचार संस्थालाइ एकजना उद्धारमा खटिएका अधिकारीले भनेका छन्, उक्त घटनामा घाइते भएका कम्तीमा ६० जनालाई नजिकैको अस्पतालमा पुर्याइएको छ, जसमध्य केहीको अवस्था गम्भीर छ।

घटनापछि उक्त क्षेत्रमा उद्धारका लागि तालिमप्राप्त कुकुरहरु, कंक्रिट काट्ने साधन र सिमेन्टका स्ल्याबलाई खोप्ने मेसिन पुर्याइएको उनले बताए।

आकाशे पुलको खस्न बाकिँ भाग पनि खस्ला भनेर चिन्तित बनेका अधिकारीहरु उक्त क्षेत्रलाई पन्छाउन कोशिश गरिरहेका छन् जसले त्यहाँ कोलाहलका दृश्य देखिएका छन्।

खोजिकार्य जारी रहँदा मानिसहरु आफ्ना आफन्तको खोजि गरिरहेका छन्।

सेना र राष्ट्रिय उद्धारका मानिसहरु त्यहाँ पुगे पनि आफन्तहरुले भने घटनास्थलमा संयोजन राम्रो हुन नसकेको बताएका छन्।