कटारमा कामदारको अवस्थाप्रति एमनेष्टीको चिन्ता

  • 31 मार्च 2016

खाडी राष्ट्र कटारका रंगशाला निर्माणमा संलग्न नेपाली सहित विदेशी कामदारहरुको अवस्था दयनीय भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले कटार सरकार, फिफा तथा कामदार निर्यात गर्ने मुलुकका सरकारहरुको गम्भीर ध्यानाकर्षण गराएको छ।

सन् २०२२ मा विश्व कप फुटबल आयोजना हुने रंगशाला निर्माणमा संलग्न अधिकांश कामदारलाई गर्नुपर्ने कामबारे झुटो विवरण दिइएको, पासपोर्ट जफत गरिएको तथा बसोबासको अवस्था गएगुज्रेको देखिएको सो संस्थाले जारी गरेको पछिल्लो अनुसन्धान रिपोर्टमा उल्लेख छ।

कैयौं नेपाली कामदारहरुलाई समेत सोधपूछ गरेर उक्त रिपोर्ट तयार पारिएको एमनेष्टीका अनुसन्धाताले बताएका छन्।

कुरुप

एक सुन्दर खेलको कुरुप पाटो शीर्षक दिइएको उक्त रिपोर्ट विशेषगरि कटारका मुख्य रंगशाला निर्माणमा संलग्न अधिकांश नेपाली कामदारहरुको अन्तर्वार्तामा आधारित भएर तयार पारिएको हो।

सो रिपोर्टका मुख्य लेखक तथा एमनेष्टीका अनुसन्धाता मुस्तफा कादरीले त्यहाँ देखिएको कामदारको बेहाल बारे भने, “मैले त्यहाँ २३४ पुरुष कामदारसंग कुरा गरें। ती मध्ये धेरै नेपाल तथा बाँग्लादेशका थिए। उनीहरुको स्थिति कस्तो पाएं भने आउनलाई धेरै खर्च गरेको, आम्दानी र कार्यबारे झुट्टा वाचा गरिएका रहेछन्।

कटारमा आइपुगेपछि तिनका पासपोर्ट जफत गरिएका रहेछन्। अनि निकै खराब शिविरमा फोहरका माझ कोचाकोच गरेर राखिएको पाइयो। उनीहरुले आफ्नो स्थितिबारे गुनासो गरेमा सजायको धम्की दिने गरेको पनि पाइयो।”

दुखपूर्ण

संसारकै ध्यान आकर्षित गर्ने विश्वकप फुटबल प्रतियोगिता सञ्चालन हुने स्थल निर्माणमा संलग्न कामदारहरुको खराब अवस्था कायम रहनु अत्यन्त दुखपूर्ण भएको एमनेष्टीले जनाएको छ।

उसले कटार सरकारलाई तत्काल यी अवस्थामा सुधार ल्याउन नियम कानुन बनाई लागु गर्न भनेको छ भने फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफालाई मानव अधिकारको अवस्थाप्रति आँखा चिम्लिएकोमा चर्को आलोचना गरेको छ।

फिफालाई कटारी अधिकारीहरुलाई श्रम कानुन सुधार गर्न सार्वजनिक अपील गर्न उसले भनेको छ।

एमनेष्टीको तेस्रो तारोमा भने कामदार पठाउने मुलुकका सरकारहरु रहेका छन्।

उनीहरुलाई उसको सुझावबारे अनुसन्धाता कादरीले भने, “नेपाल सरकारले कामदार पठाउने संस्थाहरुको उचित नियमन गर्नैपर्छ। चर्को शुल्क लिएर तथा गलत शर्तहरुमा कामदार पठाउनेलाई उसले सजाय दिनैपर्छ। नेपाल सरकारले आफ्ना कामदारलाई तिनका अधिकार र तिनले विदेशमा बेहोर्नपर्ने मुद्दाबारे जानकारी दिनैपर्छ।”

एमनेष्टीले यसअघि पनि विश्वकपकै सन्दर्भ जोडेर कटारमा विदेशी कामदारको अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको थियो। तर व्यवहारमा अझै सुधार नभएको उसले जनाएको छ।

विश्वकपले संसारको ध्यान खिंच्ने हुनाले यो अवसर र कटारमाथि अनुसन्धान केन्द्रित भएपनि उस्तै समस्या अन्य देश तथा अन्य क्षेत्रमा कार्यरत विदेशी कामदारको रहेको एमनेष्टीका अधिकारीहरुले बताएका छन्।