नयाँ विमानस्थलको निर्माण वैशाखदेखि

  • 1 एप्रिल 2016
तस्वीर कपीराइट Bharat Koirala

बहुप्रतीक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी वैशाख १ गतेबाट सुरु हुने विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले बताएको छ।

बजेट जुटाउने र जग्गा अधिग्रहणको प्रक्रिया लगभग पूरा भएसँगै उक्त विमानस्थलको निर्माण प्रक्रियाले मूर्त रुप लिन लागेको हो।

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बिहीबार बसेको बैठकले पोखरा विमानस्थलको निर्माण कार्य सुरु गर्ने मिति तोकेको हो।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गरिएको सम्झौताका १० बुँदामा पोखरा विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने पनि उल्लेख थियो।

निर्माण

सत्तारुढ नेकपा एमालेका सांसद समेत रहेका उच्चस्तरीय सहयोग समितिका संयोजक रवीन्द्र अधिकारीले भने,"नयाँ वर्षको प्रारम्भसंगै प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलन्यास गर्नुहुनेछ। अब निर्माण प्रक्रिया अगाडी बढ्यो।"

समितिका अनुसार विमानस्थल निर्माणका लागि विगतमा मुख्य समस्याको रुपमा देखिएको जग्गा अधिग्रहण गर्ने काम ९८ प्रतिशत पूरा भइसकेको छ भने बजेटका लागि चीनको आयातनिर्यात ब्याङ्कसँग २१ अर्ब रुपैयाँभन्दा बढीको ऋण सम्झौता भइसकेको छ।

त्यसमध्ये २५ प्रतिशत रकम अनुदानमा प्राप्त हुने र बाँकी रकम २ प्रतिशत ब्याजमा पाइने बताइएको छ।

पोखरामा उक्त विमानस्थल निर्माणका लागि स्थानीयवासीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए।

नामाकरण

स्थानीयवासीको मागलाई मध्यनजर गर्दै विमानस्थलको नाम पोखरा सुहाउँदो राख्ने विषयमा छलफल भइरहेको संयोजक अधिकारीले बताए।

उनले भने,"क्षेत्रीय विमानस्थल भन्ने हटाउने, अन्नपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल अथवा अन्य के नामाकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको छ। जे होस् नाम छोटोमीठो बनाउने विषयमा कुरा अगाडि बढेको छ।"

२०३१ सालमा जग्गा अधिग्रहण सुरु भएपनि २०६८ सालतिर निर्माणका निम्ति बोलपत्र आह्वान गरिएको थियो।

सरकारले चार वर्षमा विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।