'महिलालाई मन्दिर प्रवेशमा रोक नलगाउ'

  • 2 एप्रिल 2016
तस्वीर कपीराइट AFP

भारतको महाराष्ट्र राज्यको उच्च अदालतले पुरुषहरु जाने मन्दिरमा महिलालाई प्रवेशमा रोक नलगाउन आदेश दिएको छ।

भारतका कतिपय मन्दिरको भित्रीस्थलसम्म महिलालाई प्रवेश निषेधित छ।

तर अदालतले त्यस्तो अभ्यास सन् १९५६ मा पारित कानुन विपरीत भएको भन्दै उक्त कानुनको कार्यान्वयन गर्न आदेश दिएको छ।

महिला श्रद्धालुहरुलाई प्रवेशमा रोक लगाउने मन्दिरहरुले देउता अविवाहित भएको जस्ता कारणहरु अघि सार्ने गरेका छन्।

‘हास्यास्पद’

तर त्यस्तो मान्यता परिवर्तन गर्नुपर्ने अभियान चलाउँदै आएका अभियानकर्मीहरुले त्यो हास्यास्पद भएको बताउने गरेका छन्।

तस्वीर कपीराइट Charukesi Ramadurai

उनीहरुले देउताले किन विभेद गर्लान् र भन्ने प्रश्न तेर्स्याउँदै आएका छन्।

गत जनवरीमा सयौं महिलाहरुले महाराष्ट्रस्थित एउटा मन्दिरको भित्रीस्थलसम्म जाने प्रयास गरेका थिए।

तर प्रहरी र गाउँलेले उनीहरुलाई भित्र जान दिएनन्।

अपवित्र भएको भन्दै महिनावारी भएको बेला महिलालाई कतिपय मन्दिर प्रवेश गर्न नदिइने परम्पराविरुद्ध देशभर केही महिलाहरुले सामाजिक सञ्जालमा ‘ह्यापी टु ब्लीड’ अर्थात ‘महिनावारी हुने गरेकोमा कुनै खेद छैन’ भनी ह्यास ट्याग राखी सन्देश लेखेका थिए।

बम्बे उच्च अदालतले अबउप्रान्त हरेक पूजास्थलमा जान पाउने महिलाहरुको अधिकार हुने आदेश दिएको छ र महिलालाई प्रवेशमा रोक लगाउनेले ६ महिनाको जेल सजाय भोग्नुपर्ने हुन्छ।