‘विश्वमा परमाणु आतंकवादको खतरा कायमै’

  • 2 एप्रिल 2016
ओबामा  तस्वीर कपीराइट AFP
Image caption परमाणु सुरक्षाको स्थिति सुध्रिएपनि खतराहरु कायमै रहेको ओबामाको भनाइ छ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले भनेका छन्, परमाणु हातहतियार आतंकवादीहरुको हातमा पुग्न नदिनका लागि अझै धेरै काम गर्न बाँकी छ।

उनले परमाणु आतंकवाद रोक्नका लागि विश्वले ठोस कदम चालेको बताए।

वासिङटनमा विश्व नेताहरुको सम्मेलनमा बोल्दै ओबामाले भने उल्लेखनीय प्रगति हासिल भइसकेको भएपनि विश्वभर बढ्दो प्लुटोनियमको भण्डारलाई सुरक्षित गर्नु आवश्यक छ।

उनले भने, “हामीले आपसमा मिलेर विश्वका परमाणु केन्द्रहरुबाट ठूलो परिमाणमा घातक पदार्थहरु नष्ट गरिसकेका छौं।”

खतरा

उनले थपे, “जापानको घोषणापछि अब विश्वका ३० भन्दा बढी देशमा रहेका ५० भन्दा बढी परमाणु केन्द्रबाट परिष्कृत युरेनियम र प्लुटोनियमलाई हटाएका छौं, त्यस्को मतलब तीन दशमलव आठ टनभन्दा बढी त्यस्तो पदार्थ जसबाट १५० भन्दा बढी परमाणु हतियार बनाउन पुग्छ।”

वासिङटनमा परमाणु सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै ओबामाले तथाकथित इस्लामिक स्टेटले परमाणु अस्त्र हासिल गरे त्यो विश्वव्यापी सुरक्षाका निम्ति निकै खतरा हुने बताए।

५० भन्दा बढी मुलुकले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए।

सहभागी विश्व नेताहरुले उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रम र सम्मेलनमा रुसको अनुपस्थितिबारे चासो व्यक्त गरेका थिए।

ओबामाले परमाणु अस्त्र कटौती गरेको रकममा रुसले सैन्य उपस्थिति बलियो बनाउँदै गएको बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलनमा सहभागी हुन अस्वीकार गरेका थिए भने लाहोरमा केही दिनअघि गराइएको विध्वंसात्मक बम हमलाका कारण पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आफ्नो भ्रमण रद्ध गरेका थिए।

प्रतिबद्धता

रुस र पाकिस्तान परमाणु शक्ति सम्पन्न राष्ट्र हुन्।

सम्मेलनको अन्त्यमा विश्व नेताहरुले हतियार बढाउने कदमविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता दोहोर्याए।

ओबामाले परमाणु सामाग्रीबाट विश्वको ठूलो हिस्सालाई मुक्त गर्ने दिशामा भइरहेको प्रगतिबारे उल्लेख गरे।

दक्षिण अमेरिकाले त्यो लक्ष्य हासिल गरिसकेको छ भने मध्य युरोप र दक्षिण-पूर्वी एसियाले यसै वर्षको अन्त्यसम्म उक्त लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनपछि जारी एक वक्तव्यमा परमाणु आतंकवाद विश्वको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा भएको उल्लेख गरिएको छ।