दलको नेता चयनमा पौडेल र देउवा 'भिड्ने'

  • 3 एप्रिल 2016
तस्वीर कपीराइट .
Image caption कांग्रेसले आफ्नो संसदीय दलको नेता नचुन्दा त्यसको असर संवैधानिक परिषद्को पूर्णतामा पनि परेको छ

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन सहमतिबाटै गर्ने भनिए पनि अन्तत: पार्टी सभापति पदका लागि जस्तै यसमा पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबै चुनावी मैदानमा उत्रने नेताहरुले बताएका छन्।

आइतबार बिहान संस्थापन पक्ष भनिने पौडेल पक्षका नेताहरुको बैठकले पार्टीका पूर्व उपसभापति पौडेलले उम्मेद्वारी दिने निर्णय गरेको हो।

त्यस्तै, देउवाले पनि पौडेलले जस्तै घोषणा त गरेका छैनन् तर उठ्ने निश्चित भएको भन्दै तयारीलाई तीब्रता दिइएको उनी पक्षधर नेताहरु बताउँछन्।

निर्णय

व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयन चैत २४ गते हुने मिति तय भइसकेको छ।

यसअघि दलको नेताका दाबेदार रामचन्द्र पौडेल र शेरबहादुर देउवा दुबैले सर्वसम्मतिबाट नेता हुने भन्दै छलफल र भेटघाट गरे पनि एक अर्कालाई पद छोड्न दुबै तयार भएनन्।

सभापतिमा पराजित रामचन्द्र पौडेलले एक पद एक व्यक्ति भन्दै आफूलाई दलको नेता छोड्ने प्रस्तावसहित आफू निकट नेताहरुलाई देउवा कहाँ पठाएका थिए।

तर त्यहाँबाट कुनै प्रतिक्रिया नआएपछि आइतबार विहान संस्थापन पक्षका भनिएका शीर्ष नेताहरु र पछि साँसदहरुको बैठक बसेर पौडेललाई नै उठाउने निर्णय भएको संस्थापन पक्षकै भनिएका नेता आनन्दप्रसाद ढुंगानाले बताए।

उनले भने, "वार्ताको प्रतिफल नपाएपछि हामीले अब संसदीय दलको नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गर्यौं। आजै बसेको केही सांसदहरुको बैठकमा पनि प्रकाशमान सिंहले प्रस्ताव गर्ने र महामन्त्री र कोषाध्यक्षले समर्थन गर्ने निर्णय भएको छ।"

तयारी

पार्टीको १३ औं महाधिवेशनबाट सभापति पदमा फराकिलो मत अन्तरले विजयी भएका शेरबहादुर देउवाले औपचारिक रुपमा उम्मेद्वारी दिने घोषणा त गरेका छैनन् तर चुनावका लागि तयारी भने राम्रै गरिरहेको उनी निकट नेताहरु बताउँछन्।

नेता रमेश लेखकले भने, "केही अपवादबाहेक पार्टी सभापति नै संसदीय दलको नेता हुने गरेको छ। त्यसो भएको हुनाले नेपाली कांग्रेसको सामान्य परम्परा पनि हो र यो पटक पनि नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा संसदीय दलको नेताका लागि लड्नुहुन्छ।"

दुबै पक्षको यस्तो तयारीमाझ संसदीय दलको बैठक सोमबार विहान ८ बजेका लागि बोलाइएको, निर्वाचन समितिका सदस्य गुरु घिमिरेले बताए।

त्यसमा विधानका कुन-कुन विषयलाई कसरी संशोधन गर्नेबारे छलफल हुने र त्यसको निस्कर्षलाई अनुमोदनका लागि भोलि नै बस्ने केन्द्रिय समितिको बैठकमा पठाइने बताइएको छ।