आइसलण्डका प्रधानमन्त्रीद्वारा राजिनामा

  • 6 एप्रिल 2016
तस्वीर कपीराइट Reuters

गोप्य रुपमा चुहिएका प्यानमा दस्तावेजका पहिलो सिकार बन्ने क्रममा आइसलण्डका प्रधानमन्त्री सिगमन्डर गुनलागसनले पदबाट राजीनामा दिएका छन्।

प्यानमाको कानुनी परामर्श सेवा उपलब्ध गराउने कम्पनी मोस्याक फोन्सेकाबाट चुहिएका दस्तावेजमा प्रधानमन्त्री गुनलागसन आफ्नी श्रीमती सहित विदेशमा रहेको विन्ट्रिश भन्ने कम्पनीको मालिक रहेको पाइएको छ।

उनले संसदमा प्रवेश गर्दा उनले उक्त विवरण सार्वजनिक गरेका थिएनन्।

उनलाई दशौँ लाख डलर बराबरको पारिवारिक सम्पति लुकाएको आरोप लाग्दै आएको छ।

७० जना बहालवाला र पूर्व राष्ट्रप्रमुख सहित विश्वव्यापि रुपमा चिनिएका कयौँ व्यक्तिहरुसँग सम्बन्धित विवरणहरु ती दस्तावेजमा समावेश छन्।

अस्वीकार

तस्वीर कपीराइट AFP

प्रधानमन्त्री गुनलागसनले आफूले उक्त कम्पनीको सेयर श्रीमतिलाई बेचेको र कुनै पनि गल्ती नगरेको बताउँदै आएका छन्।

उनी आइतबारबाट सार्वजनिक १ करोड १५ लाख भन्दा बढी आर्थिक र कानुनी विवरणहरुमा उल्लेख दर्जनौँ ख्यातिप्राप्त उच्चपदस्थ व्यक्ति मध्ये एक हुन्।

मोस्याक फोन्सेकाबाट चुहिएका दस्तावेजमा प्रधानमन्त्री गुनलागसन र उनकी श्रीमतीले विन्ट्रिस कम्पनी सन् २००७ मा खरिद गरेको देखिएको छ।

सन् २००९ मा संसदमा प्रवेश गर्दा उनले उक्त कम्पनीबारे कुनै जानकारी उपलब्ध गराएका थिएनन्।

कम्पनीमा रहेको आफ्नो आधा सेयर आफ्नी श्रीमतीलाई आठ महिनापछि उनले बेचेको पाइएको छ।

उनकी श्रीमतिले सन् २०१५ मा हस्ताक्षर गरेको एउटा कागजातका अनुसार उक्त कम्पनीले पुर्ख्यौली सम्पतिका रुपमा प्राप्त दशौँ लाख डलर लगानी गर्दै आएको उल्लेख छ।

अदालतका विवरणहरुका अनुसार विन्ट्रिश कम्पनीको सन् २००८ मा वित्तीय संकट देखिएपछि डुबेका आइसलण्डका तीनवटा बैंङ्कमा उल्लेख्य लगानी रहेको थियो।

प्रधानमन्त्री आफैँ ती बैंकहरुको भविष्यबारेको वार्ताहरुमा सहभागी थिए र उनले पैसा फिर्ता लैजान चाहाने विदेशी ऋणदाताहरुलाई ‘गिद्ध’को संज्ञा दिएका थिए।

प्रधानमन्त्री गुनलागसनले ती परिणामहरुसँग जोडिएको आफ्नो श्रीमतिको स्वार्थ गोप्य राखेका थिए।

आफ्नो राजीनामा वक्त्वयमा उनले सरकारका थप कामहरु जस्तै वित्तीय सुधार लगायतमा अवरोध गर्ने आफ्नो इच्छा नरहेको उल्लेख गरेका छन्।

उनले सन् २००८ यता नै विन्ट्रिश कम्पनिको आयकर आफ्नी श्रीमतीले तिर्दै आएको भन्दै देशका कर निकायबाट कहिल्यै पनि सम्पत्ति विवरण नलुकाएको जनाएका छन्।

राजिनामा

तस्वीर कपीराइट EPA

तर विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री गुनलागसनलाई पद छाड्न दवाव बढ्दै गएको थियो।

हजारौँ मानिसहरुले राजधानी रेकयाभिकमा रहेको संसद भवन बाहिर प्रदर्शन गरेका थिए र विपक्षीहरुले उनको राजीनामा माग गर्दै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

यसअघि मंगलबार प्रधानमन्त्री गुनलागसनले राष्ट्रपति ओलुभर राग्नार ग्रिमसनलाई संसद विघटन गरी चाँडै नयाँ चुनावको मिति तोक्न आग्रह गरेका थिए।

तर राष्ट्रपतिले सुरुमा उनले प्रधानमन्त्री गुनलागसनको प्रोग्रेसिभ पार्टीसँगै सन् २०१३ यता सतारुढ गठबन्धनमा रहेको इन्डिपेन्डेन्स पार्टीकाका नेताहरुसँग छलफल गर्न चाहेको बताएका थिए।

इन्डिपेन्डेन्स पार्टीका अध्यक्षले प्रधानमन्त्रीको आग्रहले आफू आश्चर्यमा परेको र ‘त्यो सही निर्णय नहुने’ बताएका छन्।

पछि अविश्वासको प्रस्तावमा मतदान हुनुअघि नै प्रधानमन्त्री गुनलागसनले राजीनामा दिएको घोषणा गरेका थिए।