‘चिकित्सकहरुको प्रमाणपत्र छानबिन तीब्र’

  • 6 एप्रिल 2016
डाक्टरको भेष
Image caption नक्कली डाक्टरहरु काममा भए नभएको छानबिन कार्य देशैभर अघि बढिरहेको काउन्सिलको भनाइ छ।

चिकित्सकहरुको प्रमाणपत्र छानबिन गरिरहेको नेपाल मेडिकल काउन्सिलले नक्कली प्रमाणपत्र भेटिएका १७ जनालाई निलम्बन गरेको छ भने बांकी चिकित्सकहरुको प्रमाणपत्र छानबिनको काम तीब्र रुपमा अगाडी वढिको बताएको छ।

चिकित्सा क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी बढेको गुनासोका माझ काउन्सीलले देशभरका १७ हजार भन्दा वढी डाक्टरको प्रमाणपत्रको छानविन गरिरहेको जनाएको छ।

मेडिकल काउन्सिलकै पहलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले नक्कली प्रमाणपत्र भेटिएका डाक्टरहरु माथि मुद्धा चलाइरहेकोले सो अवधिमा उनीहरुलाई स्वास्थ्य उपचार सम्बन्धी कुनै काम गर्न नदिन निलम्बन गरिएको काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीले बताए।

उनले भने, "अहिलेको अवस्था भनेको लाइसेन्स् छैन भन्ने बराबर हो। निलम्बितहरुले यस्तो अवस्थामा पनि काम गरे ३ वर्ष कैद वा ३ हजार जरिवाना वा दुबै सजाँय हुन्छ। यदि उपचार गर्दा कसैको ज्यान गएको छ भने ज्यान मुद्दा लाग्नेछ।"

‘अपरेशन क्वाक’

निलम्बित अवस्थामा ती डाक्टरहरुले स्वास्थ सेवाको कुनै काम गरेमा अधिकतम ३ वर्षसम्मको कैद सजाँय हुने व्यवस्था छ।

स्वास्थ सेवामा नक्कली प्रमाणपत्र लिएर काम गरिरहेका डाक्टरहरुको संख्या बढेको देखिएपछि मेडिकल काउन्सिलले सीआइबी र उच्च माध्यमिक शिक्षा परिषद मिलेर ‘अपरेशन क्वाक’ नामको छानबिन प्रकृया थालेको थियो।

उक्त प्रकृया अन्तर्गत काउन्सिलले नेपालभरका १७ हजार भन्दा बढी चिकित्सकहरुको प्रमाणपत्र छानबिन गरिरहेको छ।

उक्त छानविन प्रकृयामा थुप्रै काम भइसकेको बताउँदै प्रवक्ता अधिकारीले भने," हामीले १७ हजार डाक्टरमध्ये १६ हजारको प्रमाणपत्र संकलन गरिसकेका छौं। ५ देखि ६ महिनामा सवै छानविन पुरा हुनसक्छ।"

नियम अनुसार नक्कली प्रमाणपत्रधारी डाक्टरहरुलाई आफुलाई बचाउने मौका दिइनुपर्ने हुनाले स्वास्थ्य मन्त्रालयले सीआइबीलाई मुद्दा हाल्ने जिम्मा दिएको हो।

काउन्सिलले यी कारबाहीका कारण देशभरका चिकित्सकमाथि आइपर्ने विश्वासको संकट छिट्टै हटाउन जरुरी रहेकोले अदालतबाट चांडै नै मुद्दाको किनारा लाग्ने अपेक्षा गरेको बताएको छ।