'ब्रसल्स हमलाका संदिग्धको नयां भिडिओ'

  • 7 एप्रिल 2016
तस्वीर कपीराइट Reuters

बेल्जीयमका अभियोजनकर्ताहरुले, गत महिना ब्रसल्सको विमानस्थलमा भएको हमलाका लागि जीम्मेवार एकजना जीवित संदीग्ध व्यक्तिको भिडिओ फुटेज सार्वजनिक गरेका छन्।

तिनीहरुले उक्त भिडिओमा देखिएका व्यक्तिका बारे जानकारी दिन सर्वसाधारणलाई आह्वान पनि गरेका छन्।

अधिकारीहरुले सार्वजनिक गरेका नयां भिडिओमा विमानस्थलमा हमला गरेको भनी आशंका गरिएका ति व्यक्तिलाई उनले विमानस्थल देखि सहरको केन्द्र सम्म यात्रा गर्ने क्रममा पार गरेका विभिन्न स्थानहरुमा देखाइएको छ।

ब्रसल्स हमलाहरुपछि स्थानीय समय अनुसार विहानको नौ बजेर पचास मिनेट जांदासम्म ति संदिग्ध व्यक्तिको गतिविधि सीसीटीभी क्यामरा फुटेजमा रेकर्ड भएको छ।

त्यसमा उनले टोपी र हल्का रंगको ज्याकेट लगाएका देख्‍न सकिन्छ।

तस्वीर कपीराइट EPA

अधिकारीका अनुसार ति व्यक्तिले पछि आफ्नो ज्याकेट फुकालेर फ्यालेका थिए।

जानकारी

त्यो कसैले फेला पारेको भए आफूहरुलाई जानकारी दिन पनि तिनीहरुले आग्रह गरेका छन्।

गत मार्च महिनाको २२ तारिखमा आफूलाई इस्लामिक स्टेट भन्ने समूहले ब्रसल्सको विमानस्थल र मेट्रो रेल सेवामा गरेको हमलामा ३२ जनाको ज्यान गएको थियो।

विमानस्थलमा तीनजनाले हमला गरेको ठानिएको छ जस्मध्ये दुईजना बमहमलाका क्रममा मारिएका थिए।

तस्वीर कपीराइट CCTV

विहान सात बजेर अन्ठाउन्न मिनेट जांदा बमहरु विस्फोट भएपछि तेस्रो हमलाकारी विमानस्थलबाट त्यहां नजीकैको शेराटन होटलको छेउ भएर बाहिरिएको प्रहरीले बताएको छ।

अह्वान

अधिकारीहरुले ति संदीग्ध व्यक्तिको फोटो वा भिडिओ कसैसंग भए त्यो सहित लिएर सरकारी सम्पर्कमा आउन सर्वसाधारणलाई आह्वान गरेका छन्।

यसैबीच, प्यारिस हमलाका एकमात्र जीवित संदिग्ध हमलाकारीका वकिलहरुले भनेका छन् उनलाई फ्रान्स समक्ष सुपुर्दगी गर्ने प्रकृयामा अझै केहि हप्ता लाग्न सक्ने उनीले अपेक्षा गरेका छन्।

चार महिनाको खोजीकार्यपछि गत मार्च महिनामा ति हमलाकारी सलाह अब्देसलामलाई ब्रसल्समा पक्राउ गरिएको थियो।