सडकमा सौर्य बत्ती राख्ने अभियानमा ढिलाइ

  • 7 एप्रिल 2016
सौर्य बत्ती
Image caption सौर्य बत्ती जडान गर्न अहिले नेपालभरका नगरपालिकाहरु आतुर रहेको बताइन्छ।

देशभरका नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गर्ने सरकारी अभियानमा धेरै माग आएपनि सरकारले अझैसम्म बजेट व्यवस्थापन गर्न नसकेको अधिकारीहरुले बताएका छन्।

उक्त कामका लागि चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयसंग २ अर्ब रुपैंया भन्दा बढी रकम माग गरिसकेको स्थानीय विकास मन्त्रालयले जनाएको छ।

स्थानीय समुदाय र नगरपालिकाको समेत लगानी रहने यो योजनाको रकमको ठूलो हिस्सा भने सरकारले बेहोर्ने व्यवस्था गरिएको छ।

देशभरका १ सय नगरपालिकाबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको सौर्य सडक बत्ती जडान गर्न माग आएको बताइएको छ।

रकम माग

अनुमान गरेभन्दा बढी माग आएपछि आर्थिक वर्षको बांकी तीन महिनामा अधिक काम गर्न अर्थ मन्त्रालयसंग आवश्यक रकमको माग गरिएको स्थानीय विकास मन्त्रालयका सहसचिव गोपी खनालले बताए।

उनले भने, "मेचीदेखि महाकालीसम्मका नगरपालिकाबाट माग आएका छन्। हामीले यो वर्षका लागि अर्थ मन्त्रालयसंग २ अर्ब रुपैयाँ माग गरेका छौं। हामीले मागका आधारमा रकम वितरण गर्ने योजना बनाएका छौं। यो वर्षका लागि अर्थ मन्त्रालयसंग करिब २ देखि सवा २ अर्ब रकम माग गरेका छौं।"

यसरी सौर्य बत्ती जडानका लागि माग भइ आएका नगरपालिकामा भूकम्प प्रभावित जिल्लाका नगरपालिका भने परेका छैनन्।

कूल माग मध्येको धेरै, काठमाण्डू उपत्यकामा रहेका नगरपालिकाबाट आएको बताइएको छ।

खर्च

अहिलेसम्म ८ हजार वटा सौर्य बत्तीका लागि निवेदन आइसकेको बताउने काठमाण्डू महानगरपालिकाका भौतिक निर्माण विभागका प्रमुख उत्तरकुमार रेग्मी सरकारले बजेट दिनासाथ काम अगाडि बढाउने बताउँछन्।

उनले भने,"महानगरपालिकाले यसपालिको चालू बजेटमै ६ करोड सौर्य बत्तीका लागि छुट्याएको छ। अर्को आर्थिक वर्षमा ‘उज्यालो काठमाण्डू’बाट १० करोड र अन्य ६ करोड गरी १६ करोड रुपैयाँ अर्को वर्षको लागि बजेट प्रस्ताव गरिसकेको छ।"

सौर्य सडक बत्ती जडानमा लाग्ने कूल खर्चमा सरकारले ठूलो अंश बेहोर्नेछ भने स्थानीय समुदायले १५ प्रतिशत रकम दिनुपर्नेछ।

एउटा सडक सौर्य बत्तीको लागत करिब १ लाख रुपैयाँ पर्ने बताइएको छ।