सिरिया: रणनीतिक शहर विद्रोहीको कब्जामा

  • 8 एप्रिल 2016
syria तस्वीर कपीराइट Reuters
Image caption सिरियाली विद्रोहीले आइएससंगको भीषण संघर्षपछि अल राइ आफ्नो नियन्त्रणमा लिएका हुन्

सिरियाली विद्रोहीहरुले इस्लामिक स्टेट आइएस समूहको कब्जामा रहेको रणनीतिक रुपमा महत्वपूर्ण उत्तरी शहर अल राइ अब आफूहरुको नियन्त्रणमा आएको बताएका छन्।

एलेप्पो शहरमाथि नियन्त्रणका लागि संघर्षरत विद्रोहीका लागि पछिल्लो सफलता ठूलो प्रोत्साहनका रुपमा हेरिएको छ।

अल राइ विद्रोहीका लागि हातहतियार लगायतका सामाग्री टर्कीबाट भित्र्याउन महत्वपूर्ण मार्ग हो।

संघर्ष

उक्त रणनीतिक रुपमा महत्वपूर्ण शहर आफ्नो नियन्त्रणमा लिन विद्रोहीहरुले आइएससंग कयौं दिनसम्म भीषण संघर्ष गर्नुपरेको थियो।

उक्त संघर्षमा फ्रि सिरियन आर्मी मातहत लड्दै आएका मध्यमार्गी समूहहरु संलग्न रहेको बताइएको छ।

अल राइलाई भविष्यमा पूर्वी र दक्षिणी भेगमा रहेका आइएसका पकडक्षेत्रहरुमा आक्रमणका लागि आधारस्थल बनाउन सकिने ठानिएको छ।

आइएसविरुद्ध लडिरहेका विद्रोहीहरुको प्रमुख चुनौती भनेको विद्युतीय धराप, विस्फोटक पदार्थले भरिएका सवारी साधन र आत्माघाती आक्रमणकारीहरु हुन्।

अर्को छुट्टै घटनामा डमास्कस नजिकैको एउटा कारखानामा आइएसले आक्रमण गर्दा कम्तीमा २ सयजना मानिस हराइरहेको बताइएको छ।

तर एउटा ब्रिटीश अधिकारवादी संस्थाले १ सय ४० जना भाग्न सफल भएको जनाएको छ।