केरलास्थित मन्दिरमा आगलागी, १०८ को मृत्यु

  • 10 एप्रिल 2016
घाइतेहरु अस्पताल लगिदैं तस्वीर कपीराइट AP
Image caption केरलाको कोल्लम जिल्लाको मन्दिरमा वार्षिक मेलाको समापनको बेला आतिसबाजीपछि आगलागी भएको थियो।

भारतको केरलास्थित कोल्लम जिल्लामा एक मन्दिरमा एक सयभन्दा बढी मानिस मारिएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

कोल्लम जिल्लाको प्रहरीले स्थानीय पत्रकारहरुलाई बताएअनुसार आगलागीमा परि मृत्यु हुनेको संख्या १०८ पुगेको बीबीसी हिन्दीले जनाएको छ।

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा लेखेका छन्, “कोल्लमको मन्दिरमा आगो लागेर भएको दुर्घटना अत्यन्तै दु:खद छ। मृतकका परिवारप्रति मेरो समवेदना छ र साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको म कामना गर्दछु”।

कारण

मृतकहरुमा प्रहरी पनि छन्। घटनामाथि अनुसन्धान गर्ने आदेश दिईएको छ।

घटनामा करिब २ सय जना घाइते भएको प्रहरीको भनाइ छ।

कोल्लमका प्रहरी अधिकृत लालजीले बीबीसी हिन्दीलाई बताए अनुसार पारावुरस्थित पुत्तिंगल देवी मन्दिरमा पटाकाको थुप्रोमा आगो लागेपछि उक्त दुर्घटना भएको हो।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार आइतबार बिहान करिब तीन बजे आगलागीको घटना भएको थियो।

अनुमति

मन्दिरको वार्षिकोत्सवको क्रममा मन्दिर परिसरमा मध्यरातदेखि आतिसबाजी सुरु भएको थियो र त्यो दृश्य हेर्न सयौं मानिस भेला भएका थिए।

आतिसबाजी सकिने बेलातिरै भण्डारणस्थलमा भीषण विस्फोट भएको थियो।

उक्त भण्डारणस्थलमा पटाकाहरु राखिएका थिए।

तर मन्दिरमा पटाकाहरु पड्काउने अनुमति अधिकारीहरुले नदिइएको जिकिर गरेका छन्।