विश्व फुटबलको 'हस्ती' बन्ने चीनको योजना

  • 11 एप्रिल 2016
तस्वीर कपीराइट AFPGetty Images

चीनले सन् २०५० सम्ममा विश्व फुटबल जगतमा आफूलाई एक हस्तीका रुपमा स्थापित गर्ने एउटा महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

एउटा सरकारी प्रतिवेदनमा आगामी तीन दशकका लागि गरिने कार्यक्रमहरुको विवरणहरु प्रस्तुत गरिएको छ, जस अन्तर्गत सन् २०२० सम्ममा पांच करोड बालबालिका र युवालाई फुटबल खेलमा संलग्न गराइने छ।

सन् २०५० सम्ममा चीनमा विश्वस्तरका फुटबल टोलीहरु भैसक्ने उक्त प्रतिवेदनमा भनिएको छ।

यी योजनाहरु सोमबार चीनको फुटबल महासंघले सार्वजनिक गरेको हो।

र यसमा अल्प, मध्य र दीर्घकालीन लक्ष्यसहितका योजनाहरु छन्।

सोमबार सार्वजनिक गरिएको १४ पाना लामो ती योजनाहरुमा सन् २०२० सम्ममा बीस हजारवटा फुटबल प्रशिक्षण केन्द्र र सत्तरी हजारवटा खेल मैदान निर्माण गर्ने लक्ष्य पनि छ।

तस्वीर कपीराइट Getty

सन् २०३० सम्म हरेक दशहजार चिनियांका लागि एउटा फुटबल मैदान तयार भैसक्ने लक्ष्य पनि रहेको छ।

उत्कृष्ट

योजनामा प्रस्तुत लक्ष्यहरु पुरा भएमा सन् २०३० सम्ममा पुरुष फुटबल टोली एशियाको एक उत्कृष्ट टोली बन्ने छ भने महिला टोली विश्वस्तरको हुने उक्त प्रतिवेदनमा बताइएको छ।

सन् २०५०मा चीन प्रथम दर्जाको फुटबल महाशक्त‌ि बन्ने र त्यसले अन्तर्राष्ट्रिय फुटबल जगतमा उल्लेख्य योगदान दिने पनि बताइएको छ।

ओलिम्पीक्स र प्यारालिम्पीक्समा चीनको प्रदर्शन उत्कृष्ट रहंदै आएको भएतापनि विश्व कप फुटबलमा भने चीन सन् २००२ मा मात्र छनौट हुन सकेको थियो।

चीनका राष्ट्रपति शी जीनपींग एकजना फुटबलप्रेमी हुन् र उनले यसअघि नै पुरुषतर्फको राष्ट्रिय टोली आगामी विश्वकप फुटबल प्रतियोग‌िताका लागि छनौट होस् भनेर आफूले चाहेको बताएका थिए।

तस्वीर कपीराइट Getty

उनी चीनले विश्वकपको आयोजना गरोस् र विजयी होस् भन्ने पनि चाहन्छन्।

खर्च

बीबीसीका राजनीतिक सम्वाददाता रोबिन ब्र्यान्ट भन्छन्, गत वर्ष चीनको सुपर लिगका क्लबहरुले नयां प्रतिभाशाली खेलाडीहरु किन्न तीस करोड डलर खर्चेका थिए तर तीमध्ये प्राय: धेरैजसो विदेशी खेलाडी थिए।

यस्तोमा राष्ट्रपति शी को चाहना पुरा हुन लामै समय लाग्छ सक्छ।

फुटबलको विश्व प्रशासकीय निकाय फिफाको वर‌ियता क्रममा हाल चीनको स्थान दुईसय चार देशहरुमध्ये एकासीऔं रहेको छ।

तस्वीर कपीराइट Getty

र सो देश हेइटी, प्यानमा र बेनीन जस्ता निकै साना राष्ट्रहरुभन्दा पनि तल रहेको देखिन्छ।

चीनको फुटबल लिग हालैका वर्षहरुमा भ्रष्टाचारका काण्डहरुबाट प्रभावित रहेको देखिएको छ।

यो खेललाई स्वच्छ बनाउने प्रयास जारी रहेको भएतापनि सन् २०१३मा म्याच फिक्सींग गरेको अभियोगमा ३३ जना खेलाडी र खेल अधिकारीहरुमाथि प्रतिबन्ध लगाइएको थियो।