उच्च निकायमा फेरी अर्की महिला

  • 11 एप्रिल 2016
तस्वीर कपीराइट .
Image caption सुशिला कार्कीको कार्यकाल करिब १४ महिनाको लागि हुनेछ

भावि प्रधानन्यायाधीशमा सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सुशिला कार्की सिफारिस भएसँगै अब देशको उच्चतम् निकायमा अर्को एउटा महिला पुगेकी छिन्।

सर्वोच्च अदालतसम्म पुग्ने महिलाहरुको संख्या नै नगन्य भएको बेला नयाँ वर्ष अर्थात पर्सीबाट प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने गरि कार्कीको सिफारिस भएको हो।

संसदीय सुनुवाइमार्फत नियुक्ति हुने प्रावधान भए पनि अहिलेसम्म नियमावलीमै दलहरुबीच मतभेद भइरहँदा उनको नियुक्ति भने यसअघिका प्रधानन्यायाधीशहरु जस्तो सहज नहुने देखिएको छ।

नयाँ संविधान जारी भएसँगै पहिलोपटक महिला राष्ट्रपति र महिला सभामुख पाएको मुलुकले यसै सातादेखि पहिलो महिला प्रधानन्यायाधीश पनि पाउन लागेको छ।

छबि

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती पार्टीको भागबण्डाको रुपमा नेतृत्व तहमा पुगे पनि कार्की भने वरिष्ठ न्यायाधीश हुँदै न्यायपालिकाको सर्वोच्च ओहोदामा पुग्न लागेकी हुन्।

यद्यपी २०६५ सालमा सर्वोच्चको अस्थायी न्यायाधीश हुँदा भने उनलाई महिलाको हिसाबले समावेशी बनाउन ल्याइएको ठान्नेहरु पनि छन्।

२०३५ सालबाट वकालत सुरु गरेकी उनले तीन दशक वकालतमा बिताएर वरिष्ठ अधिवक्ता हुँदै सिधै सर्वोच्चमा प्रवेश पाएकी थिइन्।

उनलाई स्थायी न्यायाधीश सिफारिस गरेका र तुलनात्मक रुपमा राम्रो छबि भएको ठानिने पूर्व प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले उनका बारेमा भने, "निर्भिक, इमानदार र सक्षम हुनुहुन्छ। एउटा न्यायाधीशमा चाहिने सबैभन्दा ठूलो गुण यही तीनवटा भएको हुनाले उहाँले प्रधानन्यायाधीशको कार्यकालमा राम्रो गर्नुहोला भन्ने मेरो शुभकामना छ। "

तत्कालीन बहालवाला मन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचार ठहर गरेपछि कार्की चर्चामा आएकी थिइन्।

चुनौति

भ्रष्टाचारका मुद्दामा खरो देखिए पनि संवैधानिक मुद्दामा भने तुलनात्मक रुपमा उनमा केही कम दख्खल रहेको कानुन व्यवसायीहरुको बुझाइ छ।

तर उनीसँगै झन्डै ७ वर्ष सर्वोच्चमा सँगै काम गरेका पूर्व न्यायाधीश गिरीशचन्द्र लाल भने यो मान्न तयार छैनन्।

१४ महिनाका लागि हुने कार्कीको कार्यकालमा भने थुप्रै चुनौति रहेको पूर्वन्यायाधीश लालले बताए।

उनले भने, "उहाँमा जुन राम्रो होस् भन्ने ईच्छा छ त्यही भावना अनुसार साथीहरुको सहयोग लिएर काम गर्नुभयो भने उहाँ सफल प्रधानन्यायाधीश हुनुहुन्छ भनेर मेरो विश्वास छ।"

तर न्यायालयमा राजनीति भित्र्याउने गरि सिफारिस गरिएको भनिएको हालैको न्याय परिषद्को विवादास्पद निर्णयको भने उनी हिस्सा बनिसकेकी छन्।

तीन दशक लामो वकालत र झन्डै ८ वर्षको न्यायाधीशको कार्यकालमा निष्ठावान र हक्की स्वभावकी भनेर चिनिने कार्कीको अबको प्रधानन्यायाधीशको कार्यकालले नै उनको छबिलाई प्रष्ट पार्ने देखिन्छ।