रुसेफमाथि महाअभियोग लगाउन सिफारिस

  • 12 एप्रिल 2016
तस्वीर कपीराइट AFP

सरकारी कोषसम्बन्धी विवरण तोडमरोड गरेको भन्दै ब्रजिलको एउटा संसदीय समितिले राष्ट्रपति जिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस गरेको छ।

६५ सदस्यीय उक्त समितिमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनुपर्ने पक्षमा ३८ र विपक्षमा २७ मत खसेको थियो।

समितिमा मतदानअघि समितिका सदस्यहरुले रुसेफविरुद्ध महाअभियोग प्रक्रिया अगाडि बढाउन हुने वा नहुने विषयमा बहस गरेका थिए।

समितिमा भद्रगोलपूर्ण अवस्थामा मतदान भएको थियो, जहाँ राष्ट्रपति रुसेफका समर्थक र विपक्षीले प्लेकार्डसहित नाराबाजी गरेका थिए।

झट्का

संसदीय समितिले आफ्नो अपेक्षा विपरीत महाअभियोग प्रक्रिया अगाडि बढाउने पक्षमा भएको मतदानले राष्ट्रपति रुसेफलाई झट्का दिएको रुपमा हेरिएको छ।

तस्वीर कपीराइट Getty

रुसेफमाथि मुलुकमा बढ्दो बजेट घाटा ढाकछोप गर्न कोषको विवरण बंग्याएको आरोप लगाइएकको छ।

महाअभियोग प्रक्रिया अगाडि बढाउने कंग्रेसको समितिको सिफारिससँगै अब तल्लो सदनमा आगामी १७ वा १८ तारिखमा हुने पूर्ण मतदानमा सबैको ध्यान केन्द्रित भएको छ।

राष्ट्रपति जिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउने विषयले ब्रजिललाई विभाजित गरेको छ।

राजधानी ब्रसिलियामा हुने भनिएको प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले आवश्यक तयारी गरिरहेको छ।

मानक

तल्लो सदनमा पूर्ण मतदान हुनुअघि विशेषतः सांकेतिक रहेको समितिको उक्त मतदानलाई रुसेफविरुद्ध लगाउने भनिएको महाअभियोगको पक्षमा कति मत छ भन्ने मानकको रुपमा हेरिएको छ।

तस्वीर कपीराइट Reuters

राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावलाई सिनेटसम्म पुर्याउनका निम्ति तल्लो सदनमा पक्षमा ३४२ मत आवश्यक पर्ने बताइएको छ।

रुसेफले सरकारी कोषसम्बन्धी विवरण आफूले तोडमरोड गरेको आरोप अस्वीकार गरेकी छिन्।

उनले उक्त आरोप महाअभियोग लगाउनुपर्ने खालको नभएको तर्क समेत गरेकी छन्।

एउटा दैनिक पत्रिकाले हालै गरेको मत सर्वेक्षणले महाअभियोगको पक्षमा २९२, विपक्षमा ११५ र अनिर्णित १०६ मत देखाएको थियो।