‘आगामी आर्थिक वर्षभित्र देश तुइनरहित हुने’

  • 12 एप्रिल 2016
bridge
Image caption सरकारले आउंदो आर्थिक वर्षको अन्त्यसम्ममा तुइन हटाएर झोलुङ्गे पुल लगायतका संरचना बनाउने भएको छ

देशभर तुइन विस्थापन गर्ने गरी जारी झोलुङगे पुल निर्माण कार्य आगामी आर्थिक वर्षको अन्त्यसम्म सकिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

अधिकारीहरुका अनुसार प्रारम्भिक आंकडामा भनिएका भन्दा तुइनको संख्या कम भेटिएको छ।

तीमध्ये चालु आर्थिक वर्षको अन्त्यसम्म १२ वटा विस्थापनको काम सकिने उनीहरुले बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले आफ्नो पदभार सम्हाले लगत्तै गरेको पहिलो निर्णयमा जोखिमपूर्ण यात्राको साधन मानिएको तुइनलाई देशभरबाट विस्थापन गर्ने उल्लेख थियो।

विस्थापन

सोहीअनुरुप काम थालिएको बताउने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अध्ययन टोलीले पहिले भनिएको ३६५ वटा नभई १ सय ७१ वटा तुइन पाइएको बताएको छ।

त्यसबाहेक केही व्यक्तिगत प्रयोगका तुइन समेत फेला परेका छन्।

सार्वजनिक प्रयोगमा रहेकामध्ये हालसम्म ३ वटा विस्थापन गरिसकिएको र बाँकीलाई विस्थापन गर्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भटराईले बताए।

उनले भने, “९ वटा झोलुङ्गे पुलले तुइन विस्थापन गर्ने काम भइरहेको छ र केही महिनामा सम्पन्न हुन्छ, ४२ वटाको निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ भने १०१ वटाको डीपीआर तयार पार्नै काम भइरहेको छ।”

त्यस्ता तुइनहरुलाई विस्थापन गर्नका लागि धेरैजसो झोलुङगे पुल निर्माण गर्न लागिएको र केही ठाँउमा पक्की पुल पनि निर्माण गरिने बताइएको छ।

तुइन विस्थापन गर्दा पैदलयात्राका हिसाबले एक घण्टाको फरकमा मात्रै अर्को पुल निर्माण गर्ने नीति मन्त्रालयले लिएको छ।

आवश्यकता

एकैसाथ धेरै पुल निर्माण गर्दा बजारमा सामाग्रीको अभाव देखिने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गरिएको प्रवक्ता भटराई बताउँछन्।

उनले भने, “बजारमा बनी बनाउन सामान उपलब्ध गराउने संस्थाहरु सिमित भएकाले समस्या भएको छ, त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने र पहिले नै हाम्रो आवश्यकताका बारेमा बजारमा जानकारी गराउने काम गरिरहेका छौं।”

महाकाली, कर्णाली र त्रिशुली नदीमा तुइनको संख्या धेरै रहेको बताइन्छ।

एक ठाँउबाट विस्थापन गरिएको तुइन अर्को ठाँउमा लिएर जोडने र त्यहाँ पुलको माग गर्न देखिएकाले तुइनहरु जिल्ला विकास समितिमा जम्मा गरिने अधिकारीहरु बताउँछन्।

अर्थमन्त्रालयले बजेटमा कमी नहुने वचन दिइकोले योजना अनुरुप नै तुइन विस्थापनको काम सकिने अधिकारीहरुको विश्वास छ।