वार्तामा आउन तराईका दलहरुलाई ओलीको आह्वान

  • 12 एप्रिल 2016
Image caption प्रधानमन्त्री भएको ६ महिना पुग्दा ओलीको देशवासीका नाममा यो दोस्रो सम्बोधन हो

प्रधानमन्त्री केपी ओलीले तराई केन्द्रित दलहरुलाई संकेत गर्दै परिवारका सदस्य पराई र बाहिरिया आफन्त हुनै नसक्ने भन्दै उनीहरुलाई वार्तामा आउन पुन: आह्वान गरेका छन्।

नयाँ वर्षको पूर्वसंध्यामा देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले थाती रहेका विषयलाई संवादका माध्यमद्वारा चित्त बुझ्दो समाधान खोज्न सरकार तयार रहेको बताए।

भूकम्पपछिको पुनर्निर्माणको काममा ढिलाई भएको विषयलाई दोहो-याउँदै प्रधानमन्त्रीले बैशाख १२ देखि निजी आवास पुनर्निर्माणको काम शुरु हुने पनि बताए।

समाधान

नयाँ वर्षको शुभकामना दिन भन्दै देशवासीको नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले बितेको वर्षलाई सम्झिँदै भूकम्प र सीमा नाका अवरोधको निकै चर्चा गरे।

पुनर्निर्माणमा लाग्नुपर्ने बेला तराईमा भएको आन्दोलन र त्यसले पारेको प्रभाव सँगै आफुले पदभार ग्रहण गरेको स्मरण गर्दै उनले तराईको समस्या समाधानका लागि आफु तयार रहेको बताए।

अहिलेसम्म नाकामा अवरोध हुने गरी किन आन्दोलन गरिएको हो भन्ने कुराको उचित जवाफ नपाएको बताएका उनले संवादमार्फत नै समस्याको समाधान निस्किने विषयमा विश्वस्त रहेको धारणा राखे।

संवादकै लागि सरकारले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको बताएका प्रधानमन्त्रीले संयन्त्रमा सहभागी भएर समस्याको समाधान खोज्न तराई केन्द्रित दलहरुलाई आग्रह गरे।

उनले भने, "संवादमा आउनुहोस लोकतन्त्रमा हल नहुने कुनै पनि जटिल विषय हामी बीचमा छैन। घरपरिवारको सदस्य परचक्री र बाहिरका सल्लाहकार स्वधर्मी जस्तो हुनै सक्दैन भन्ने हामीले महशुस गर्न सक्नु पर्छ।"

विभिन्न बहानामा नेपालमा अनेक खालका परीक्षण गरिएको भन्दै प्रधानमन्त्री ‌ओलीले अब त्यस्तो हुन नदिने उल्लेख गरे।

प्रधानमन्त्रीले भने, "विकास नहुनुको नकारात्मक परिणाममा टेकेर अनगिन्ति सामाजिक वैज्ञानिकहरुले धर्म, संस्कृति, जातजाति, भूगोल र क्षेत्रका नाममा अनेक खालका परीक्षणहरु गरे र अब यो मुलुकलाई थप प्रयोगशाला बनाउन दिन सकिँदैन।"

प्रगति

भूकम्पपछिको पुनर्निर्माणको काम सोचे जस्तो गतिमा हुन नसकेको स्वीकार्दै उनले त्यसका पछाडि नाकामा देखिएको असहजता, कानुनी अड्चनलगायतका समस्या झेल्नु परेको बताए।

बैशाख १२ गतेदेखि उपत्यका बाहेकका ११ वटा जिल्लामा निजी घर बनाउनका लागि सरकारले दिने अनुदान वितरणको कामले गति लिने उनको भनाइ थियो।

ओलीले भने, "बैशाख १२ देखि निजी आवास पुनर्निर्माणको काम सुरु हुन्छ, वर्षातमा उनीहरुक लागि सामूहिक आवासको व्यवस्था मिलाइने छ।"

बाँकी १७ जिल्लामा सर्वेक्षणको काम गरेर वर्षायाम अगावै अनुदान वितरणको व्यवस्था मिलाइने पनि प्रधानमन्त्री ओलीले बताए।

करीब ५० मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले संविधान र संघीयताको कार्यान्वयनमा भएका प्रगति आर्थिक, सामाजिक विकासको पनि चर्चा गरे।

कुनै पनि राष्ट्र प्रति कटुता दुर्भाव नरहेको भन्दै उनले अरुले पनि नेपालको मैत्रीपूर्ण सद्भाव तथा संवेदनशील भूराजनीतिक अवस्थितिको सम्मान गर्नुपर्ने बताए।

लोडशेडिङ अन्तका लागि आफ्नो पुरानै अडान दोहो-याउँदै प्रधानमन्त्री ओलीले त्यसमा भइरहेको प्रगतिको चर्चा गरे।

भारत नेपाल अन्तरदेशीय मुजफ्फरपुर ढल्केवर प्रसारण लाईन मार्फत ८० मेगावाट विद्युत आयत भइसकेको र आउँदो ६ महिनामा थप ६ सय मेगावाट विद्युत आपूर्ति हुने उनले दावी गरे।