सत्ता हत्याउने षड्यन्त्र: रुसेफ

  • 13 एप्रिल 2016
तस्वीर कपीराइट Fotos Ag. Camara e PR

ब्रजिलकी राष्ट्रपति जिल्मा रुसेफले आफ्ना सहायकले आफूलाई सिद्धयाउने षड्यन्त्र गरेको भन्दै उनलाई ‘गद्दार’को संज्ञा दिएकी छन्।

आइतबार संसदमा आफूविरुद्धको महाभियोग प्रस्तावको सामना गर्न लागेकी उनले उपराष्ट्रपति मिसेल टेमोरले वैधानिक ढंगले निर्वाचित नेतालाई हटाउने षड्यन्त्र गरेको बताएकी हुन्।

तर, गठबन्धनको अर्को दल प्रग्रेसिभ पार्टी पनि सत्ता छाड्ने पक्षमा उभिएकाले महाभियोगको प्रस्ताव विफल हुने सम्भावना एकदमै कम देखिएको छ।

आइतबारको मतदानमा उक्त दलका ४९ जना सांसदको मत निर्णायक हुने ठानिएको छ।

विवाद

वित्तीय अनियमितताबारे कंग्रेसमा महाभियोग प्रस्तावको सामना गरिरहेकी रुसेफले उपराष्ट्रपति टेमोरले आफूविरुद्ध षड्यन्त्र गरेको धारणा राखेकी हुन्।

तस्वीर कपीराइट AFP

देशकै सबैभन्दा ठूलो दल पि एम डी बीका नेता रहेका टेमोर केही अघिसम्म राष्ट्रपति रुसेफका निकट साहयोगी थिए।

तर सोमबार सार्वजनिक एउटा श्रव्य सन्देशमा टेमोरले राष्ट्रपति रुसेफ अस्थायी रुपमा निलम्बित भएपछि अन्तरिम राष्ट्रपतिका रुपमा काम गर्ने आकांक्षा प्रकट गरेका छन्।

कंग्रेसमा महाभियोग प्रक्रिया शुरु भएपनि त्यसबारेको मतदान सम्पन्न भई अस्थायी रुपमा रुसेफको निलम्बन हुन अर्को सप्ताहान्तसम्म लाग्न सक्ने ठानिएको छ।

टेमरले दुर्घटनावश उक्त श्रव्य सामाग्री चुहिएको बताएका छन्।

क्रुद्ध

तस्वीर कपीराइट Getty

तर त्यसविरुद्ध क्रुद्ध प्रतिक्रिया दिएकी राष्ट्रपति रुसेफले टेमरले आफू विरुद्धको षड्यन्त्रको नेतृत्व गरेको आरोप लगाएकी छन्।

आफू पदबाट हटाइएपछि गर्ने सम्बोधनको पूर्व अभ्यास टेमोरले गरिरहेको श्रव्य सामाग्री बाहिर आएपछि उनको भेद खुलेको राष्ट्रपति रुसेफले बताएकी छन्।

टेमरको नाम उल्लेख नगरी उनले स्पष्ट रुपमा आफू र ब्रजिलको लोकतन्त्रमाथि धोका भएको बताएकी छन्।

राष्ट्रपति रुसेफको कार्यलयले उक्त प्रस्ताव आइतबारको मतदानमा पराजित भए उपराष्ट्रपति टेमोरले राजीनामा दिनुपर्ने बताएको छ।

आगामी आइतबार तल्लो सदनमा शुरु हुने महाभियोगको प्रस्तावमाथिको मतदानअघि ब्रजिलको राजनीति र समाजमा उल्लेख्य रुपमा तनाव र विभाजन बढेको देखिएको छ।