‘आप्रवासीहरुलाई दुर्व्यवहार नगर्न अपील’

  • 13 एप्रिल 2016
सीमा क्षेत्र तस्वीर कपीराइट AFP
Image caption बल्गेरियाले टर्कीसंगको सीमा क्षेत्रमा काँढे तारबार लगाएको छ

बल्गेरियाका आन्तरिक मामिला मन्त्रीले आफ्ना जनतालाई अपील गर्दै देशमा आएका आप्रवासीहरुलाई दुर्व्यवहार नगर्न भनेकी छन्।

केही भिजीलान्ते समूहले अफगानिस्तानबाट आएका तीनजना आप्रवासी पुरुषहरुलाई बांधेर दुर्व्यवहार गरेको भिडियो दृश्य इन्टरनेटमा सार्वजनिक भएपछि उनको त्यस्तो प्रतिक्रिया आएको हो।

मोबाइल फोनबाट खिचिएको एउटा भिडिओ दृश्यमा अफगानिस्तानबाट आएका जस्ता देखिने तीनजना पुरुषलाई भुईंमा लडिरहेको र उनीहरुको हात ढाड पछाडी लगेर बांधिएको देख्‍न सकिन्छ।

बल्गेरियाका प्रधानमन्त्री तथा सीमा सुरक्षा दलका प्रमुख लगायत सरकारी अधिकारीहरुले यस अघि टर्कीसंगको देशको सिमानामा गैरसैनिक समाजसेवी समूह भनिने समूहहरुको गठनलाई स्वागत गरेका थिए।

फिर्ता

तर अब त्यस्तो समूह मध्येको एकले गरेको ठानिएको कामको भिडिओ सार्वजनिक भएपछि र त्यसको व्यापक निन्दा भएपछि उनीहरुले आफ्नो भनाइ फिर्ता लिएका छन्।

आन्तरिक मामिला मन्त्री रुम्याना बाख्भारोभाले भनिन्, सरकारी अधिकारीहरुले सर्वसाधारण जनताले गर्ने सहयोगको कदर गर्ने भएपनि उनीहरुले आप्रवासीहरुलाई आफू स्वयंले गिरफ्तार नगरी प्रहरीलाई बोलाउनु पर्छ।

यो बर्ष केही अघि ग्रीसबाट मेसेडोनिया भएर अघि बढ्ने पश्चिमी बाल्कन्स क्षेत्रको आप्रवासी मार्ग बन्द गरिएपछि थुप्रै आप्रवासीहरु पहाडी बाटोबाट ग्रीस भएर बल्गेरिया छिर्ने गरेका छन्।