बेल्जियमकी यातायातमन्त्रीको राजीनामा

  • 15 एप्रिल 2016
तस्वीर कपीराइट AP

बेल्जियमकी यातायातमन्त्रीले गत मार्च महिनामा ब्रसल्समा भएका हमलाहरु अघि त्यहांको विमानस्थलको सुरक्षा व्यवस्थामा विद्यमान कमजोरीहरुलाई बेवास्ता गरेको भन्ने आरोपहरुमाझ पदबाट राजीनामा दिएकी छिन्।

एउटा गोप्य दस्तावेजबाट उजागर भए अनुसार सन् २०१५ मा नै युरोपेली संघका सुपरीवेक्षकहरुले बेल्जियमका विमानस्थलहरुको सुरक्षा ब्यवस्था कमजोर रहेको पत्ता लगाएका थिए।

मन्त्री ज्याकलिन गलांले आफूले त्यस्तो रिपोर्ट हेर्न नपाएको बताएकी थिइन्, जुन प्रतिवेदनलाई विपक्षी पार्टीहरुले गोप्यरुपमा बाहिर चुहाएका थिए।

प्रतिवेदन

तस्वीर कपीराइट RIA Novosti

आफूलाई इस्लामिक स्टेट भन्ने समूहले ब्रसल्सको जावेन्टेम विमानस्थल र मेट्रो स्टेशनहरुमा गरेको हमलामा ३२ जनाको ज्यान गएको थियो।

प्रधानमन्त्री शाल मिशेलले पहिले मन्त्री गलांको बचाउ गरेका थिए र उनले संसदलाई उनको कार्यालयले सो आलोचनात्मक इयु प्रतिवेदन नहेरेको बताएका थिए।

तर बिहीबार बेलुकी सो घटनासम्बन्धी थप दस्तावेजहरु सार्वजनिक भएका थिए।

शुक्रबार बिहान प्रधानमन्त्री मिशेलले आफूलाई “पहिले बताइएको भन्दा भिन्नै विवरण” थाहा हुन आएको बताएका थिए।

उनले सो इयु प्रतिवेदनमाथि पहिले नै छलफल भएको रहेछ भनेका सरकारी संचारमाध्यम आरटीबीएफ ले जनाएको छ।