एक्वेडोरको भूकम्पमा कम्तीमा २३३ को मृत्यु

  • 17 एप्रिल 2016
तस्वीर कपीराइट AFP
Image caption एक्वेडोरमा ७.८ म्याग्नीट्यूडको भूकम्प आउँदा ठूलो क्षति भएको अनुमान गरिएको छ

एक्वेडोरमा गएको ७.८ म्याग्नीट्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा २३३ जनाको मृत्यु भईसकेको र ५०० जना भन्दा बढी घाईते भएको राष्ट्रपति राफाएल कोरैयाले आफ्नो ट्वीटरमार्फत बताएका छन्।

एक्वेडोरमा सन् १९७९ पछिको सबैभन्दा ठुलो यो भूकम्प शनिबार बेलुका स्थानीय समयको ६ बजेर ५८ मिनेटमा उत्तरी शहर म्युज्न नजिकै गएको थियो।

भूकम्पका कारण धेरै ठाउँमा ठूलो क्षति पुगेको खबर आएको छ।

ईटलीको यात्रा छोट्याएर फर्किंदै गरेका राष्ट्रपति कोरैयाले आपतकालीन स्थितिको घोषणा गरेका थिए।

उद्धार टोली

तर भूकम्प प्रभावित कतिपय क्षेत्रमा अझै कोही पुग्न नसकेका कारण यो संख्या बढ्न सक्छ।

शान्तिसुरक्षा नभएको गुनासोका माझ उपराष्ट्रपति खोर्खे ग्लासले शान्ति कायम राख्न आह्वान गरेका छन्।

१० हजार सैनिक र ३५ सय प्रहरी प्रभावित क्षेत्रमा खटाईएको उनले बताएका छन्।

तस्वीर कपीराइट AFP
Image caption कम्तिमा २३३ जनाको ज्यान गएको प्रारम्भिक खबर छ

केन्द्रबिन्दुको नजिकै रहेको नगर पेदेर्नालेसका मेयर ग्याब्रीएल एल्सीभर भन्छन्, “हामी सकेसम्म गर्ने कोशिश गरिरहेका छौं, तर हामीले गर्न सक्ने खासै केही छैन।"

दर्जनौं भवनहरु भत्केका र लुटपाट सुरु भएको उनले बताए।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भनेको छ- भूकम्पको केन्द्रबिन्दु म्युज्न नगर नजिकैको पातलो बस्ती भएको क्षेत्रमा, करीब १९ किलोमिटर मुनि थियो।

परकम्प

त्यसपछि धेरै परकम्पहरु गएका छन्, ती मध्ये सबैभन्दा ठुलो ५.६ रेक्टर स्केलको थियो।

सुनामीको चेतावनी दिने एउटा संस्थाले भनेको छ- सुनामीको खतरा अब टरिसकेको छ र अब कुनै खतरा बाँकी भए स्थानीय अधिकारीले मुल्यांकन गर्नेछन्।

त्यो भन्दा अगाडि उक्त संस्थाले एक्वेडोरका केही तटमा सुनामीको खतरा रहेको बताएको थियो।

पेरु, कोलम्बिया र भेनेजुएलाका राष्ट्रपति लगायत धेरै क्षेत्रीय नेताहरुले एक्वेडोरप्रति सहानुभूति व्यक्त गरेका छन्।

भूकम्पको धक्का कोलम्बियामा पनि महशुस गरिएको थियो।

बीबीसीका विज्ञान संवाददाता जनथन एमोस भन्छन् एक्वेडोरका लागि भूकम्प नयाँ कुरा होईन।

एक्वेडोर, प्रशान्त महासागर वरिपरिको भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्दछ।

सन् १९०० यता उक्त देशमा ७ रेक्टर स्केलका र त्यो भन्दा ठुला भूकम्पहरु आएका छन्।

तीमध्ये केहीले उब्जाएका कम्पन र सुनामीले उल्लेख्य रुपमा जनधनको क्षति गरेका छन्।