कतिपय भूकम्पपीडित अझै सरकारी सूची बाहिर

  • 17 एप्रिल 2016
nra तस्वीर कपीराइट bbc
Image caption भूकम्प गएको करिब एक वर्ष पुग्नै लाग्दा बल्ल प्राधिकरणको संयोजनमा राहत वितरण भइरहेको छ

भूकम्प गएको एक वर्ष पुग्न लाग्दा समेत प्रभावित जिल्लाका कतिपय पीडितको नाम अझै सरकारी सूचीमा छैन। सरकारी सूचीमा नपर्दा राहत पाउन कठिनाइ भोगेका पीडितहरुले कठ्यांगिद्रो जाडो पनि आफैले बनाएको अस्थायी टहरामुनि कटाए। तर अहिले उनीहरुलाई आउंदो बर्खायामसम्म पनि कुनै व्यवस्था नहुनेको कि भन्ने चिन्ताले सताएको देखिन्छ। त्यस्तै पीडा भोगिरहेको भूकम्पप्रभावित नुवाकोटको खरानीटार पुगेकी बीबीसीकी सहयोगी शक्तिमाया तामांगको रिपोर्ट।

अनुदान

सरकारले नुवाकोटको खरानीटार गाविसमा राहत अनुदान वितरण यसै सातादेखि सुरु गरेको हो।

गत वैशाख १२ गतेको विनासकारी भूकम्पबाट घर भत्केका खैरेनीटार गाविसका ४ सय ५७ परिवारले भूकम्प पीडितको परिचयपत्र पाएका थिए।

भूकम्पले घर पूर्ण क्षति भएको तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको पीडितको सूचीमा नाम नपरेकाहरु भने थप समस्यामा परेका छन्।

लाभग्राहीको सूचीमा नाम नपरेको र आफूलाई वास्तविक पीडित बताउने हरिकृष्ण श्रेष्ठ भन्छन्, “सबैको घर भत्केकै हो, यहाँ कोहीले पाउने, कोहीले नपाउने काम भयो, कि हामी नेपाली नागरिक नै होइन भन्नु पर्यो।”

छुटपुट

लाभग्राही सूचीमा नाम भएकाहरुलाई राहत रकम वितरण गर्न खरानीटर पुगेका स्थानीय विकास अधिकारी नाराणप्रसाद रिसालले वास्तविक पीडित भएकाहरुको नाम सूचिकृत गर्न छुटेको स्वीकार्दै उनीहरुलाई पनि समावेश गरिने बताए।

उनले भने, “केहीको नाम छुटेका पाएका छौ, यसको लागि यहाँबाट हुंदैन हामी प्राधिरकणको कार्यालयमा भन्छौं।”

लाभग्राहीको सूचीमा नाम छुटेका, जग्गा प्रमाणपत्र नभएका, घरमूलीको नाम फरक परेकालगायतका गुनासो संकलन गरी केन्द्रमा पठाइएको उप–क्षेत्रीय कार्यालय विदुरका निमित्त प्रमुख लालबहादुर बस्नेतले बताए।

उनले भने, “सुझाव तथा गुनासोहरु संकलन गरेका छौं, समाधान गर्नुपर्छ भन्नेमा लागेका छौं, माथिल्लो निकायबाट नयां निर्देशन आएपछि नयां सम्झौता गर्छौं”।

लाभग्राहीको सूचीमा देखिएको यस्तै समस्याका कारण अनुदान वितरणमा पनि ढिलाइ भइरहेको छ।

यसले वर्षा लाग्नुभन्दा अगाडि नै स्थायी घरमा बस्ने आशा आशामै सीमित हुने हो कि भन्दै नुवाकोटको खरानीटारका बासिन्दाहरु चिन्तित बनेका छन्।