सिरियाली शान्तिवार्ता 'जोखिम'मा

  • 18 एप्रिल 2016
तस्वीर कपीराइट Reuters

जिनीभामा सिरियाली सरकार र विपक्षीबीच जारी शान्तिवार्ता अप्ठ्यारोमा परेको छ।

विपक्षीहरुले सरकारी सेनाले गरेको आक्रमणको बदलामा आफूहरुले पनि हमला गर्ने बताएपछि त्यस्तो अवस्था सिर्जना भएको हो।

विद्रोही पक्षले सरकारी सेनाले युद्धविराम सम्झौता भंग गरेको आरोप लगाउंदै सिरियाको उत्तर पश्चिमी भेगमा आफूले नयां युद्ध शुरु गरेको जनाएको छ।

विद्रोहीहरुले लटाकिया र छिमेकको हामा प्रान्तमा हमलाहरु गरेका बताइएको छ।

आह्वान

जिनीभामा वार्तारत विपक्षी वार्ताकारहरुलाई पनि सो राष्ट्रसंघ नेतृत्वको वार्तामा कडा रुपमा प्रस्तुत हुन विद्रोहीहरुले आह्वान गरेका छन्।

गत फेब्रुअरी २७ तारिख देखि लागू भएको अमेरिकी तथा रुसी मध्यस्थतामा हासिल युद्धविराम सहमतिपछि त्यस क्षेत्रमा हिंसा उल्लेख्य रुपमा कम भएको थियो।

तर हालैका दिनहरुमा त्यहां हिंसात्मक घटनाहरुमा वृद्धि भएको देखिएको छ।

विशेषगरी विभाजीत उत्तरी शहर एलेप्पो वरपर भिडन्त चर्कंदै जांदा त्यस्तो युद्ध विराम भंग हुने अवस्थामा पुगेको छ।

घोषणा

तस्वीर कपीराइट AFP

सोमबार बिहान विद्रोहीहरुले जारी गरेका एक वक्तव्यमा भनिएको छ, सत्ताधारी सैन्यले युद्धविराम संझौता उल्लंघन गर्ने क्रम बढेपछि विस्थापित मानिसहरुलाई निशाना बनाउने र मानिसहरुको बसोबास रहेका स्थानहरुमा निरन्तर बम हमला गरेपछि हामी पनि युद्ध आरम्भ भएको घोषणा गर्दछौं।

उक्त वक्तव्यमा अहरर अल-शाम र जैश अल-इस्लाम जस्ता शक्तिशाली इस्लामवादी समूहहरु लगायत “फ्री सिरिएन आर्मी” को नाममा गोलबद्ध अन्य समूहहरुले हस्ताक्षर गरेका छन्।

रोएटर्स समाचार एजेन्सीसंग कुरा गर्दै एउटा सिरियाली सैनिक स्रोतले विपक्षीहरुको हमलाको पुष्टि गरेका छन्।