२१ देशमा राजदूत सिफारिस

  • 19 एप्रिल 2016
तस्वीर कपीराइट NepalPMO
Image caption बाँकी रहेको ओमनमा पनि छिट्टै राजदूत सिफारिस गरिने बताइएको छ

सरकारले लामो समयपछि मंगलबार विभिन्न २१ वटा देशका लागि राजदूतहरु नियुक्तिका लागि सिफारिस गरेको छ।

त्यसरी सिफारिस हुनेमा पूर्व मन्त्रीदेखि सत्तारुढ दलका नेता कार्यकर्ता र सरकारी कर्मचारीहरुसम्म छन्।

सरकारले लामो समयपछि राजदूत सिफारिस गरे पनि नियुक्तिका लागि भने संसदीय सुनुवाइको प्रतीक्षा गर्नुपर्ने हुन्छ।

तर त्यसको नियमावलीको नै टुंगो लागिसकेको छैन।

पदपुर्ति

करीब दुई दर्जन राजदूतावासहरु प्रमुखविहीन भएको बेला मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २१ वटा मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।

सिफारिस हुनेमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेदेखि एमालेका युवराज कार्की, एमाले छोडेर माओवादी प्रवेश गरेकी लक्की शेर्पा, राप्रपा नेपालका निरञ्जन थापा, परराष्ट्रका दुबुसु क्षेत्रीलगायत छन्।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईेले भने, "२२ मध्ये २१ मुलुकमा राजदूत सिफारिस भएको छ, ओमनमा बाँकी छ त्यो पनि छिट्टै गर्छौं।"

यी बाहेक अन्य राजदूत रिक्त रहेका देशमा पनि कर्मचारी र पार्टीको भागबण्डा अनुसार पदपूर्तिका लागि सिफारिस गरिएको छ।

उनीहरुले नियुक्तिका लागि संसदीय सुनुवाइको प्रक्रिया पुरा गर्नुपर्नेछ।

प्रक्रिया

तर दलहरुबीच संसदीय सुनुवाइको व्यवस्थामा मतभेद कायमै रहँदा यसअघि नै सिफारिस भएका प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीशहरुलगायत निर्वाचन आयोगका आयुक्तको नियुक्ति प्रक्रियासमेत अघि बढ्न सकेको छैन।

त्यसबारे पनि मंगलबार मन्त्रिपरिषदमा छलफल भएको सरकारका प्रवक्ता तथा मन्त्री राईले बताए।

उनले भने, "अहिले सभामुख बाहिर हुनुभएकोले उहाँ फर्किएपछि नियमावली टुंगो लगाएर यी सबै संसदीय सुनुवाइलाई अघि बढाउनुपर्छ।"

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत सिफारिसबाहेक भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरणले गरिरहेको काम र त्यसको प्रगति विवरण पनि सरकारलाई बुझाउन निर्देशन दिएको बताइएको छ।