कतिपय जिल्लामा अझै पाठ्यपुस्तक अभाव

  • 19 एप्रिल 2016

शैक्षिकसत्र शुरु भएको हप्तौं बितिसक्दा समेत पश्चिम नेपालका कतिपय जिल्लाहरुमा अझै पाठ्यपुस्तक पुग्न नसकेको विद्यालयहरुले बताएका छन्।

पाठ्यपुस्तक पुगेका जिल्लामा पनि सबै कक्षाका पुस्तक नपुगेको बताइन्छ।

पूर्वी र मध्यक्षेत्रमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको र बाँकी जिल्लाको हकमा वैशाख १५ गतेसम्म पुगिसक्ने जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ।

देशभर विद्यार्थी भर्ना अभियान जारी रहेका बेला मुगु जिल्लामा कक्षा ६ देखि १० सम्मका कुनै पनि पाठ्यपुस्तक पुगेको छैन्।

अभाव

पाठ्यपुस्तक पठाइएका दैलेख, कालिकोट, जाजरकोट लगायतका जिल्लामा धेरैजसो कक्षाका सबै पाठ्यपुस्तक नभएको विद्यालयहरुले बताएका छन्।

कक्षा ६ को अधिकांश पुस्तक पुगेका छैनन् भने कक्षा ७ को ३ वटा र कक्षा ८ को एउटा पुस्तकको अभाव देखिएको छ।

त्यस क्षेत्रमा पाठ्यपुस्तक वितरण गर्ने जनक शिक्षा सामाग्री केन्द्रका क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले भने, “विशेषगरी समस्या कक्षा ६ र ७ को पुस्तकको देखिएको छ, हाम्रो तथ्याङ्क अनुसारको पुस्तक सेटमै छैन्, कक्षा ६ को १ लाख र कक्षा ७ को ३६ हजार भए पुग्छ।”

सुदूरपश्चिमका जिल्लामा प्राथमिकताका साथ पाठ्यपुस्तक पठाइएको बताउने जनक शिक्षा सामाग्री केन्द्रको क्षेत्रीय कार्यालयले त्यस क्षेत्रमा पनि कक्षा ६ र ७ को पुस्तकको अभाव रहेको जनाएको छ।

क्षेत्रीय प्रमुख योगेन्द्र भट्ट ४ लाख पुस्तक अझै अभाव रहेको बताउँछन्।

उनले भने, “दुईलाख थान कक्षा ६ को, १ लाख कक्षा ७ को र अन्य कक्षाको पनि ऐच्छिक विषय गरेर १ लाख थानको आवश्यकता छ।”

वितरण

पश्चिमाअञ्चल र पूर्वी क्षेत्रमा चाहिँ आवश्यक पाठ्यपुस्तकहरु पुगिसकेको र वितरणको काम भइरहेको त्यसक्षेत्रमा रहेका केन्द्रका क्षेत्रीय कार्यालयहरुले बताएका छन्।

मुगुका लागि नेपालगञ्जमा पाठ्यपुस्तक पठाउने तयारी अन्तिम चरणमा रहेको केन्द्रले जनाएको छ।

अपुग देखिएका सबै पाठ्यपुस्तक छपाई भइसकेको र आउँदो १५ गतेसम्म सबै जिल्ला पुर्याइसकिने केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताए।

उनले भने, “कक्षा ६ र ७ को पुस्तक कतैकतै कम भएको छ, १० गतेसम्म दुर्गम पहाडी जिल्लामा र १५ गतेसम्म तराईका जिल्लामा गरेर सबै जिल्लामा आवश्यक पाठ्यपुस्तक वितरण गरिसक्छौँ।”

सरकारले १ कक्षादेखि ५ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मा क्षेत्रीयस्तरमै निजी क्षेत्रका छापाखानालाई दिएको छ तर पुस्तक अभाव जनक शिक्षाले छपाइको जिम्मा दिइएका पाठ्यपुस्तकमै देखिएको बताइन्छ।