‘महंगी दर सुधारोन्मुख’

  • 20 एप्रिल 2016
तस्वीर कपीराइट

भूकम्प र नाकाबन्दीपछि थलिएका आर्थिक परिसूचक सुधारोन्मुख हुन थालेको केन्द्रिय ब्याँकको पछिल्लो विवरणले जनाएको छ।

नाकाबन्दीपछि ह्वात्तै बढेको महंगी केही मत्थर हुन थालेको राष्ट्र ब्याँकका प्रवक्ताले बताएका छन्।

तर विप्रेषण आय बढेपनि विदेशमा काम गर्न जाने नेपालीहरुको संख्या धेरै घट्न थालेको हुँदा त्यसले अर्थतन्त्रमा असर पर्न सक्ने चिन्ता रहेको उनले जनाए।

आँकडा

साउनदेखि फागुनसम्मका आर्थिक परिसूचकहरु समेटिएको पछिल्लो प्रतिवेदनमा खासगरी मुद्रास्फिति अर्थात महंगीको दरमा केही कमी आएको देखिएको छ।

पुसमा १२ प्रतिशत नाघिसकेको महंगीको दर फागुनमा १० प्रतिशतमा ओर्लिएको छ।

नाकाबन्दी हटेपछि इन्धनको आपूर्ति सहज बन्दै गरेकाले महंगी घटेको र अब फागुनपछि त्यो झन् सुधारोन्मुख रहेको राष्ट्र ब्याँकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए।

“विस्तारै अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको हामी देख्छौं। एक त महंगीको दर उल्लेख्य घटेको छ, तर पनि अझै सो दर उच्च नै छ। आउने दिनमा त्यो झन ओर्लने हाम्रो अपेक्षा छ,” उनले भने।

विप्रेषणको चिन्ता

उक्त प्रतिवेदनमा विप्रेषण आयबारे मिश्रित संकेत देखापरेको छ।

अघिल्लो वर्षको आठ महिनाको तुलनामा यसपाली विदेशमा काम गर्ने नेपालीहरुले पठाउने रकम १५ प्रतिशतले बढेको छ। फागुनसम्ममा उनीहरुले सवा चार खर्ब रुपियाँभन्दा बढी पठाएका छन्।

तर चिन्तालाग्दो विषय चाहिं के छ भने यही अवधिमा विदेशमा काम गर्न जाने नेपालीहरुको संख्या भने करीब एक चौथाइले घटेको छ।

नि:शुल्क भिषा, नि:शुल्क टिकटको नियमपछि म्यानपावर कम्पनीहरुको आन्दोलन तथा कामदार मागमा आएका कमी जस्ता कारणले संख्या घट्दा आउने दिनमा यसले गम्भीर असर पार्न सक्ने राष्ट्र ब्याँकका प्रवक्ता पंगेनीले बताए।

“यी समस्याको सम्बोधन भएन भने विप्रेषण आय घट्न सक्छ। त्यसो भए हाम्रो वृहत् आर्थिक स्थायित्वमा चुनौती हुनेछ। त्यसैले सकेसम्म चाँडो यी समस्या समाधान गरियोस् भन्ने हामी चाहन्छौं।”

राष्ट्र ब्याँकको प्रतिवेदनले इन्धन आपूर्ति थप सामान्यीकरण अनि पर्यटनमा सुधार आउने आशा राखेको छ।

त्यसमाथि पुनर्निर्माणले गति लिए अर्थतन्त्रमा अझै राम्रो प्रभाव पर्ने त्यसमा उल्लेख छ।