सिरियामा अहिलेसम्मकै ठूलो सहायता सामग्री

  • 21 एप्रिल 2016
तस्वीर कपीराइट AFP
Image caption सिरियाको विद्रोही नियन्त्रित नगरमा ठूलो सहायता सामग्री पुगेको छ

सिरियामा घेराबन्दीमा परेको विद्रोही नियन्त्रित देशको मध्यवर्ती नगरमा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा सहायता सामग्री बोकेका सवारी साधनहरुको समूह पुगेको छ।

होम्स प्रान्तको रास्तान नगरमा रहेका एकलाख बीस हजार वासिन्दाका लागि सन् २०१२ भन्दा यता पहिलो पल्ट खानेकुरा र औषधीहरु बोकेका ६५ वटा ट्रकहरु पुगेका थिए।

  रेडक्रसको अन्तर्राष्ट्रिय कमिटि र सिरियाली रेड क्रेसन्टले ती राहत सामग्रीहरु रास्तान पुर्याएका हुन्।

आइसीआरसीका प्रवक्ता पावेल क्राइसेकले भने, ती सवारी साधनहरुमा खानेकुराको पोका, गहुंको पिठो र अन्य पोषणयुक्त वस्तुहरु छन्।

सन्तोषजनक

तिनमा औषधीहरुका साथै पानीको वितरण सहज तुल्याउने उपकरणहरु पनि छन्।

ती सवारी साधनहरु रास्तान पुग्दै गर्दा सिरियाका लागि राष्ट्रसंघीय दूत स्टेफान डु मिस्तुराले जीनिभामा बोल्दै सिरियामा घेराबन्दीमा बांचीरहेका पांच लाख मानिसहरुसम्म मानवीय सहायता पुर्याउन सानो तर सन्तोषजनक प्रगति भैरहेको भएतापनि तिनीहरुलाई आराम अनुभव हुने गरी पर्याप्त काम हुन नसकेको बताएका छन्।

होम्स शहरबाट बीस किलोमिटर उत्तरमा अवस्थित रास्तान नगर हालैका दिनहरुमा सरकारी हवाइ हमलाहरुको निशाना बनेको थियो र परिणाम स्वरुप अमेरिका र रुसको मध्यस्थतामा लागू गरिएको युद्धविराम भंग हुने हो कि भन्ने आशंका उत्पन्न भएको थियो।

सिरियामा झण्डै दुई महिनादेखि कायम कमजोर युद्धविरामको उद्देश्य देशभरी नै व्यापक रुपमा राहत सहायता वितरणमा सघाउनु रहेको थियो।

बुधबार मात्रै घेराबन्दीमा रहेका र विद्रोही तथा सरकारी सैन्य दुबैको नियन्त्रणमा रहेका नगरहरुबाट सयौं विरामी तथा घाइतेहरुलाई बाहिर ल्याइएको थियो।

तर त्यस्ता राहतका कामहरुमा खासगरी देशको उत्तर पश्चिममा अवस्थित विभाजित शहर एलेप्पो वरपर चर्केको हिंसाका कारण व्यवधान उत्पन्न भएको छ।