‘शान्ति सम्झौताको उल्लङ्घन भए आन्दोलन’

  • 22 एप्रिल 2016
माओवादी लडाकू - फाइल फोटो तस्वीर कपीराइट AFP

सशस्त्र द्वन्द्वकालमा भएका घटनाहरुको सत्य तथ्य पत्ता लगाउन गठित आयोगहरुले पीडितहरुको उजुरी लिन सुरु गरेलगत्तै ती आयोगहरुको अधिकारक्षेत्र सीमित पारिएको भन्दै तत्कालीन विद्रोही माओवादी समूहका नेताहरुले विरोध जनाएका छन्।

द्वन्द्वकालीन सबै मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले नै हेर्नु पर्ने उनीहरुको माग छ। यदि त्यसो नगरिए विस्तृत शान्ति सम्झौताको उल्लङ्घन हुने र आफूहरु आन्दोलनमा जान वाध्य हुने उनीहरुको भनाइ छ।

१० वर्ष सम्म चलेको सशस्त्र द्वन्द्वका बेला भएका मानवता विरोधी जघन्य अपराध लगायतका घटनाहरु हेर्नका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने विषय तत्कालीन सरकार र विद्रोही माओवादीका बीचमा भएको शान्ति सम्झौतामा उल्लेख गरिएको थियो।

विरोध

सम्झौताको ९ वर्ष पछि गठन भएको आयोगले काम सुरु गर्दै गर्दा उक्त आयोगलाई शान्ति सम्झौता विपरित सीमित अधिकार दिइएको भन्दै तत्कालीन विद्रोही माओवादीमा रहेका र हाल विभिन्न दलमा विभाजित माओवादीहरुले विरोध जनाएका छन्।

नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता पम्फा भुसालले भनिन्, "शान्ति सम्झौताको दायाँ-बायाँ गर्ने अधिकार यो देशमा कसैलाई छैन, सम्झौतामा उल्लेख भए अनुसार भए मान्छौ अन्यथा मान्दैनौं।"

शान्ति सम्झौता भए यता राजनीतिक लक्ष्य र उद्देश्यलाई लिएर तत्कालीन माओवादी विभिन्न दलमा विभाजित भए पनि यो विषयमा उनीहरु एकै ठाउँमा उभिएका छन्।

अदालत लगायतका विभिन्न सरकारी निकायमा विगतदेखि नै उनीहरु विरुद्ध रहेका मुद्दाहरु सबै आयोगमार्फत नै निदान गरिनु पर्ने उनीहरुको माग छ।

गलत

विप्लव नेतृत्वको माओवादीका नेता सन्तोष बुढा मगरले भने "एकपक्षकालाई सफाई दिएर छुँदै नछुने र अर्को पक्षलाई मात्र त्यहाँ हालेर मुद्दा ब्युताँदै लैजाने ठंगले सोचिएको छ त्यो ठीक छैन।"

“कुनै कुनै रुपमा माओवादीलाई मुद्दामा फसाएर लैजाने खालको गलत नियमतबाट ल्याइएको छ, यो ठीक छैन।"

हाल सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानविन गर्न गठित आयोगहरुले सुरु गरेको उजुरी दर्ताको प्रक्रियालाई सघाउन आफूहरु तयार रहेको तर आयोगको क्षेत्राधिकार खुम्च्याएर अन्य निकाय तथा अदालतबाट समेत समानान्तर कारबाहीको सम्भावना बाँकी राखिराखे आन्दोलन गर्ने उनीहरु भनाइ छ।

छलफल

नेकपा माओवादीका संयोजक मातृका यादवले भने "सुरु देखी नै फसाउने चाल हो अहिले हामी सबैको आँखा खुलेको छ अब सुधार गर्नु पर्यो। सुधार नभए जनतामा जान्छौं र आन्दोलनमा गर्छौं।"

यही विषयलाई लिएर एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको पहलमा विभाजित सबै माओवादीका बीचमा एक सरो छलफल समेत भइसकेको छ।

प्रधानमन्त्री केपी ओली सँग भेटघाट गरिसकेका ती दलहरुले नेपाली काँग्रेस लगायतका अन्य दलहरु सँग पनि छिट्टै छलफल गर्ने बताएका छन।