पत्रकार दीक्षितको रिहाइको माग

  • 23 एप्रिल 2016
Image caption अख्तियारले पत्रकार कनक दीक्षितलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ

वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई हिरासतमा राखिएकोबारे विभिन्न देशका कैयौं पत्रकार र बुद्धिजीवीहरुले गम्भीर चासो व्यक्त गरेका छन्।

अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत, बांग्लादेश, श्रीलंका र नेपालका थुप्रै पत्रकार र बुद्धिजीवीहरुले वरिष्ठ पत्रकार दीक्षितलाई तत्काल रिहाइ गर्न माग गर्दै विज्ञप्ती जारी गरेका हुन्।

विज्ञप्तीमा नेपाल र दक्षिण एशियामै 'पारदर्शिता, वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारको आवाज बुलन्द गर्ने साहसी र सम्मानित पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गरिएको' भन्दै गम्भीर चासो व्यक्त गरिएको छ।

भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई शुक्रबार उनकै निवास परिसरबाट गिरफ्तार गरेको थियो।

पक्राउ पुर्जी

शुक्रबार प्रहरी हिरासतमा राखिएका दीक्षितको रक्तचाप अनियन्त्रित भएपछि शनिबार विहानदेखि बीर अस्पतालको सघन उपचार कक्षमा राखिएको छ।

अस्पतालमा श्रीमतीलाई फोटो नखिच्ने र टेलिफोन पनि लैजान नपाउने गरी भेट गर्न दिइएको तर परिवारका अन्य सदस्यलाई भेट्न नदिइएको दीक्षितका दाजु पत्रकार कुन्द दीक्षितले बताए।

अनलाइन समाचारमाध्यममा प्रकाशित भएका पक्राउ पुर्जीमा उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएको उल्लेख छ।

पक्राउ गरेपछि अख्तियारले जारी गरेको विज्ञप्तीमा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको, संस्थाको सम्पत्ति व्यक्तिगत सम्पत्ति सरह बेचविखन गरेको र त्यसरी बेचविखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्तयत्र संस्थामा लगानी गरेको भन्ने लगायतका उजुरी आयोगमा परेको उल्लेख छ।

त्यसरी कसैले उजुरी गरेमा गिरफ्तार गर्नसक्ने अधिकार अख्तियारलाई रहेको बताउँछन् वरिष्ठ अधिवक्ता लव मैनाली।

उनले भने, " पहिले पनि पूर्वमन्त्री खुमबहादुर खड्कादेखि अन्यलाई यसरी नै थुनेर अनुसन्धान गरेका उदाहरण धेरै छन्। सम्भव छ भने नथुन्नु् राम्रो हो। तर थुन्नै नपाउने भन्ने होइन। अख्तियारले आफ्नो स्वविवेकीय अधिकार उचित रुपमा प्रयोग गर्यो कि गरेन भन्ने छलफलको विषय हो।"

प्रतिशोध

अख्तियारको विज्ञप्तीमा रानी जगदम्बा र मदनशमशेर राणाको सम्पत्ति गैरकानुनी रुपमा हात पारेको भन्ने पनि उल्लेख छ।

त्यो छानबिनको अधिकार भने अख्तियारको दायरामा नपर्ने अधिवक्ता मैनालीले बताए।

उनी भन्छन्, "यसमा पनि अख्तियारले हात हाल्न खोजेको हो भने त्यो बिल्कुलै गलत कुरा हो।"

पत्रकार दीक्षित कहिले माओवादीको चर्को विरोध त कहिले तत्कालीन राजाको विरोध अनि कहिले न्याय माग गर्दै अनशनमा बसेका गंगामाया नन्दप्रसादको जीवन बचाउ अभियानमा अग्रपंक्तिमा प्रस्तुत हुँदै आएका छन्।

राजा ज्ञानेन्द्रको शासनकालमा पहिले सञ्चार सचिव र ०६२ /०६३ को जनआन्दोलनका बेला मुख्य सचिव रहेका लोकमानसिंह कार्कीलाई आन्दोलनपछि गठित रायमाझी आयोगले दोषी ठहर्याएको थियो।

त्यस्ता लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नु हुँदैन भन्ने अभियानको नेतृत्व गर्नेमध्ये दीक्षित एक थिए।

त्यसकै प्रतिशोधमा लोकमानसिंह कार्कीले आफूलाई लक्षित बनाएको दीक्षितले बताउँदै आएका थिए।

पछिल्लो समय भारतीय नाकाबन्दीका बेला दीक्षितले भारतको विरोध र राष्ट्रवादी अडानका कारण पनि उनलाई तारो बनाइएको कतिपयको बुझाइ छ।