पुरातात्विक सम्पदाको पुनर्निर्माण सुरु

  • 25 एप्रिल 2016

विनाशकारी भूकम्पको १ वर्ष पुग्दा सरकारले सोमबारबाट काठमाडौं, भक्तपुर र पाटनका केही पुरातात्विक सम्पदाको पुनर्निर्माणको काम सुरु गरेको छ।

प्रधानमन्त्रीसहित अन्य दलका वरिष्ठ नेताहरुले काठमाडौं, भक्तपुर र ललितपुरका ४ वटा मन्दिरहरुबाट सम्पदा पुनर्निर्माणको अभियान सुरु गरेका हुन्।

देशभर ७ सयभन्दा बढी पुरातात्विक सम्पदामा क्षति पुगेको भए पनि पछिल्ला परकम्पहरुले त्यो संख्या बढेको पुरातत्व विभागले जनाएको छ।

अभियान

वैशाख १२ गते भूकम्प प्रभावितका घर पुनर्निर्माणको अभियान सुरु गरेका प्रधानमन्त्री केपी ओलीले आज पुरातात्विक सम्पदा पुनर्निर्माणको अभियान थालेका हुन्।

उनले स्वयम्भूस्थित अनन्तपुर मन्दिरको पुनर्निर्माणको काम सुरु गरेका थिए।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माणको कामका लागि सबैतिर धेरै समय लाग्ने बताए।

उनले भने, "हामीले हाम्रा धरोहरहरुलाई माया गरेका छौं, हाम्रा पुरातात्विक महत्वका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्छौं।"

सोमबार नै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बसन्तपुर दरबार क्षेत्रस्थित वंशगोपाल मन्दिरको, एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले पाटनको मणिमण्डपको र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको फसिदेवलको पुनर्निर्माणको काम सुरु गरेका छन्।

लागत

पुरातत्व विभागले सुरुमा निकालेको तथ्यांक अनुसार आंशिक र पूर्ण गरि ७ सय भन्दा बढी पुरातत्विक सम्पदामा क्षति पुगेको भए पनि तिनमा कयौं परकम्पले थप क्षति पुर्याएकोले त्यसको पछिल्लो तथ्यांक निकाल्न बाकिँ रहेको जनाएको छ।

यी सबै गर्दा पुनर्निर्माण गर्न कति लागत लाग्ला?

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, "हिमाली भेगमा मनांगमा, मुस्ताङकमा, डोल्पामा र अलि माथिल्लो पहाडी भेगमा जुन गुम्बाहरुमा क्षति भएको छ र त्यसबाट तल्लो भेगमा रसुवा, धादिंगसहित अरु क्षेत्रमा पनि र सबै मठमन्दिर गर्दा १८ देखि २० अर्ब लाग्नसक्छ।"

यसका लागि कतिपय सम्पदाहरुको त पुनर्निर्माणका लागि भारत, चीन, श्रीलंका, अमेरिकालगायतका देशले आर्थिक सहयोग गर्ने बचनबद्धता दिएपछि टेन्डर प्रक्रिया भइरहेको पुरातत्व विभागले जनाएको छ।

सबै काम सोचेजस्तै गरि अघि बढे सम्पदाहरुको पुनर्निर्माणका लागि पाँचदेखि ७ वर्ष लाग्ने अनुमान गरिएको छ।