प्यारिस हमलाका संदिग्धको सुपर्दगी

  • 27 एप्रिल 2016
तस्वीर कपीराइट AFP
Image caption प्यारिस आक्रमणका संदिग्ध सलाह अब्देस्लामलाई बेल्जियमले फ्रान्स समक्ष सुपुर्दगी गरेको छ

प्यारिसमा गत नोभेम्बरमा भएका हमलाहरुका एकजना जीवित संदिग्ध व्यक्तिलाई बेल्जीयमले फ्रान्स समक्ष सुपुर्दगी गरेको छ।

ति संदिग्ध सलाह अब्देस्लामलाई कडा सुरक्षा व्यवस्थामाझ हवाई मार्गबाट फ्रान्सको राजधानी पुर्याइएको थियो।

प्यारिस हमलामा संलग्न भनी आरोपित सलाह अब्देसलामले अब फ्रान्सेली अदालत सामु अभियोगहरुको सामना गर्नेछन्।

बेल्जीयमका संघीय न्यायाधिवक्ताले, अब्देसलामलाई, फ्रान्सले जारी गरेको युरोपेली पक्राउ पुर्जी अन्तर्गत बुधबार विहान फ्रान्सेली अधिकारीहरु समक्ष सुपुर्दगी गरिएको बताएका छन्।

नाटकीय

चार महिनासम्म लुकेर रहेका उनलाई गत मार्च १८ तारिखका दिन एउटा नाटकीय रुपमा छापा मारिएको घटनामा गरिफ्तार गरिएको थियो।

त्यसक्रममा उनी घाइते समेत भएका थिए।

ति २६ बर्षे फ्रान्सेली नागरिक बेल्जीयमको ब्रसल्समा जन्मेका थिए र प्यारिस हमला अघिसम्म उनी त्यहीं नै बसोबास गर्दथे।

अब्देसलाम विरुद्ध फ्रान्समा आतंकवादी हत्यामा संलग्न भएको र आतंकवादी संगठनको गतिविधिमा लागेको जस्ता अभियोगहरु लगाइएको छ।

फ्रान्सका कानूनमन्त्रीले सलाह अब्देसलामलाई प्यारिसमा अवस्थित एउटा उच्च सुरक्षा भएको जेलमा एक्लै थुनामा राखिने बताएका छन्।

त्यसअघि बोल्दै फ्रान्सका एकजना फौजदारी अभियोग सम्बन्धी वकिल फ्रान्क बेर्टोनले स्थानीय संचार माध्यमसंग कुरा गर्दै आफूले अब्देसलामको प्रतिवादी वकिलका रुपमा काम गर्ने बताएका थिए।

उनले गत शुक्रबार बेल्जीयमको बेभेरेन जेलमा अब्देसलामसंग साढे दुईघण्टा भेटघाट गरेका थिए।

प्यारिसमा नोभेम्बर १३ तारिखमा इस्लामिक स्टेट समूहले गरेको संयोजित हमलामा १३० जनाको ज्यान गएको थियो भने दर्जनौं गम्भीर रुपमा घाइते भएका थिए।

उक्त हमलामा संलग्न धेरैजसो हमलाकारीहरुको हाल मृत्यु भैसेकेको छ।