दक्षिण अफ्रिकी राष्ट्रपति जुमामाथि अर्को धक्का

  • 29 एप्रिल 2016
तस्वीर कपीराइट
Image caption राष्ट्रपति ज्याकोब जुमामाथि भ्रष्टाचारका आरोपहरु लाग्दै आएका छन्

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले सन २००९ मा खारेज गरिएका झण्डै आठसय मुद्दाहरुको पुन: सामना गर्नुपर्ने भएको छ।

दक्षिण अफ्रिकाको उच्च अदालतले राष्ट्रपति ज्याकोब जुमामाथि लागेका ७८३ भ्रष्टाचारका आरोप खारेज गर्ने भन्ने निर्णयमाथि समीक्षा गर्न आदेश दिएको छ।

ती आरोपहरु सन २००९ को आम निर्वाचनका केही हप्ता अगाडि खारेज गरिएको थियो, त्यही निर्वाचनबाट जुमा राष्ट्रपति बन्न पाएका थिए।

न्यायाधीश औब्रे लेडवाबाले भने, "त्यसबेलाका राज्य अभियोजनकर्ता मोकोटेडी एम्पशेको निर्णय 'अविवेकी' थियो।"

गठबन्धन

विपक्षी प्रजातान्त्रिक गठबन्धनले अगाडि सारेको यो मुद्दाले अभियोजनकर्ताहरुलाई राष्ट्रपति जुमा विरुद्ध लागेका आरोपहरु उल्ट्याउन बाटो खुला गरेको छ।

जुमाले ती आरोपहरु सँधै अस्वीकार गर्दै आएका छन्।

यो सन १९९९ मा भएको एउटा अरबौं डलरको सरकारी हतियार खरीद संझौतासँग सम्बन्धित छ।

तस्वीर कपीराइट
Image caption अदालतमा सुनुवाइ हुँदा बाहिर प्रदर्शनहरु हुने गरेका छन्

गत हप्ता एकजना न्यायाधीशले नेतृत्व गरेको आयोगले गरेको अनुसन्धानले तत्कालीन कुनै पनि सरकारी अधिकारीले भ्रष्टाचार या धोखाधडी गरेको प्रमाण फेला पारेको थिएन।

गठबन्धनका नेता म्मुसी माइमानीले भने, 'आज विधिको शासनका लागि ठूलो जीतको दिन हो। हामी विश्वास गर्छौं ज्याकब जुमाले अभियोगको सामना गर्नेपर्दछ। अदालतको आजको आदेशले हामीले सँधै राख्दै आएको धारणालाई बल पुर्याएको छ।'

लामो लडाइ

उनले भने, म ती सहकर्मीहरुलाई बधाइ दिन्छु जसले यो मुद्दामा कडा मेहनत गरेका छन्। यो लामो लडाइ थियो।

अधिकारीहरुले भनेका छन्, नयाँ फोन निगरानी प्रमाणहरुले अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको देखिएको छ।

दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकन नेशनल कंग्रेसले भनेको छ, उच्च अदालतको आदेशमा राष्ट्रपतिले कुनै अपराध गरेको भन्ने आसय छैन।

न्यायाधीश लेडवाबाले भनेका छन् - एम्पशेले ति अभियोगहरु खारेज गर्दा दवावमा थिए त्यसैले अविवेकी निर्णय गरे।

यो दक्षिण अफ्रिकी राष्ट्रपतिका लागि पछिल्लो कानुनी धक्का हो।

गत महिना दक्षिण अफ्रिकाका सर्वोच्च अदालतले जुमाको निजि घरको स्तरोन्नति गर्दा प्रयोग गरेको राज्यकोष फिर्ता नगरेर संविधानको उल्लंघन गरेको बताएको थियो।