इराकी संसदमै पसे सयौं प्रदर्शनकारी

  • 30 एप्रिल 2016
तस्वीर कपीराइट Reuters
Image caption शनिवार पनि राजनीतिक गतिरोध अन्त्य गर्न संसद विफल भएपछि प्रदर्शनकारी संसद भवन पसेका हुन्

इराकमा जारी राजनीतिक गतिरोधको विरोध गरिरहेका सयौं शिया मुस्लिम कार्यकर्ताहरु जबरजस्ती संसदभित्र पसेका छन्।

उनीहरु प्रभावशाली शिया धर्मगुरु मोक्तादा अल सद्रका समर्थक मध्येका हुन्।

इराकी झण्डा बोकेका प्रदर्शनकारीहरुले ग्रीन जोन भनिने क्षेत्रको ढोकालाई जबर्जस्ती तोडे र केहीले सरकारी भवनहरुमा तोडफोड गरिरहेको खबर प्राप्त भएका छन्।

राजधानी बगदादमा संकटकाल लागू गरिएको छ।

इराकमा सुधारका प्रयास र कट्टरपन्थी संगठन इस्लामिक स्टेटविरुद्धको लडाईंमा अवरोध पुर्याइरहेको राजनीतिक संकटका माझ यो एउटा नाटकीय घटना हो।

प्रदर्शन

कुनै समयमा अमेरिकी सेनालाई कडा चुनौति दिएका मोक्तादा अल सद्रका समर्थकले हप्तौंदेखि सुधारको माग गर्दै प्रदर्शन गरिरहेका थिए।

यसै क्रममा प्रधानमन्त्री हैदर अल अबादी दलीय, जातीय र साम्प्रदायिक आधारमा चुनिएका मन्त्रीलाई हटाएर प्राविधिक विशेषज्ञलाई नियुक्त गर्न चाहन्छन्।

अल सद्रको पनि प्रधानमन्त्रीले यो योजनालाई अघि बढाउन भन्ने माग छ, तर संसदमा शक्तिशाली पार्टीहरुले हप्तौंदेखी ती परिवर्तन अनुमोदन गर्न अस्विकार गरिरहेका छन्।

शनिबार पनि उक्त गतिरोध अन्त्य नभएपछि प्रदर्शनकारी संसदमा प्रवेश गरेका हुन्।

आलोचना

समाचार संस्था एएफपीका अनुसार त्यसपछि भाग्न खोजेका सांसदहरुलाई रोक्दै प्रदर्शनकारीहरुले चर्को स्वरमा नारा लगाएका थिए, "कायरहरु, भाग्दै छन्।"

सरकारी पदहरु बाँड्ने इराकको प्रणालीले अयोग्य उम्मेदवारहरुलाई बढावा दिएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै लामो समयदेखि त्यसको आलोचना हुँदै आएको छ।

सन् २०१४ मा सत्तामा आएका अबादीले भ्रष्टाचार निर्मूल पार्ने र साम्प्रदायिक तनाव कम गर्ने प्रतिबद्धता जनाएका छन्।

तर त्यसको निम्ति प्राविधिक विज्ञको नयाँ मन्त्रीमण्डल नियुक्त गर्न उनी अहिलेसम्म सफल भएका छैनन्।