सिरियामा आंशिक संघर्षविराम

  • 30 एप्रिल 2016
syria तस्वीर कपीराइट AP
Image caption हिंसाग्रस्त अलेप्पो पछिल्लो संघर्षविरामको हिस्सा छैन।

सिरियाली सेनाले वाचा गरेको अस्थायी र आंशिक संघर्षविराम कार्यान्वयनमा आउन थालेको छ।

डमास्कसमा एक दिन र लटाकियामा तीन दिनसम्म उक्त संघर्षविराम लागू भएको बताइएको छ।

हिंसा

सेनाले डमास्कस र तटीय प्रान्त लटाकियामा संघर्षविराम लागू गर्ने भनेपनि हिंसाग्रस्त अलेप्पोलाई समेटिएको छैन।

अलेप्पोमा पछिल्लो एक सातामा २ सयजनाभन्दा बढी मानिसको ज्यान गएको छ।

विद्रोहीहरुलाई गैरसैनिक निशानाहरुमा हमला गर्ने वहाना नदिनका लागि पछिल्लो कदम चालिएको सिरियाली सेनाले जनाएको छ।

अमेरिका र रुसको कूटनीतिक दबाबपछि पछिल्लो घोषणा आएको छ।

अमेरिका र रुसले देशभर नै शत्रुता अन्त्यको सम्झौतालाई पुनर्जीवित गर्ने कोसिस गरिरहेका छन्।

पछिल्ला प्रयासबीच अलेप्पोमा भने भीषण भिडन्तहरु भइरहेका छन्।

सरकार र विद्रोहीको नियन्त्रणमा रहेका अलेप्पोका भागहरुमा अस्पताल, मस्जिदमाथि हमला भएका र २६ जना जतिको ज्यान गएको विवरण आएका छन्।

यसअघि एउटा अस्पतालमा भएको सरकारी हवाइ हमलामा चिकित्सक, बालबालिकासहित ५० जनाको ज्यान गएको थियो।