सुदूरपश्चिममा खडेरी, अन्नबाली नष्ट

  • 1 मे 2016
drought तस्वीर कपीराइट
Image caption मानिस र वस्तुभाउका लागि थोरै पानी जोहो गर्न पनि निकै कष्ट भोग्नुपरेको गाउंलेहरु बताउंछन्

सुदूरपश्चिमका कतिपय पहाडी जिल्लामा लामो खडेरीका कारण अन्नबाली नष्ट हुन थालेको स्थानीयवासी तथा अधिकारीहरुले बताएका छन्। करिब दुई महिनायताको खडेरीले पानीको मुहान र ससाना खोलानालाहरू सुकेपछि मानिस र पशुपन्छीका लागि पानीको जोहो गर्न समेत समस्या परेको छ । बझाङ जिल्लाले भोगिरहेको त्यस्तै समस्याबारे उमीद बागचन्दले पठाएको रिपोर्ट:

जिल्ला कृषि विकास कार्यालय बझाङको तथ्याङ्क अनुसार खडेरीका कारण हिउँदे बाली शतप्रतिशत नष्ट भएपछि यसवर्ष बझाङवासीले खाद्य संकटको सामना गर्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत र्इश्वरीप्रसाद पाण्डेय भन्छन्, "पहाड र उच्चपहाडको पाखामा लगाइएको गहुँ ८० देखि शतप्रतिशत नष्ट हुने अवस्थामा पुगेको छ। गरीब किसानहरु सबैभन्दा बढी मर्कामा परेका छन्”।

दु:ख

खडेरीका कारण अन्नबाली खेतबारी मै सुकेपछि बझाङवासी यतिबेला निक्कै दु:खी छन्।

कैलाश गाउँका हिक्मतबहादुर सिंह भन्छन्, “गोरु,गाई त २०/३० वटा मरिसके खडेरीकै कारण। कहिले नसुक्ने पानीका मुहानसमेत सुकिरहेका छन्”।

मेलबिसौना गाविसको हिलाँताका खुमबहादुर भण्डारीलार्इ गहुँ त भएन नै धानबारी नबिग्रियोस भन्ने चिन्ता छ ।

उनले भने, “आद्रता नभएर धान उम्रिन्छ कि उम्रदैंन भन्ने थाहा छैन”।

स्थानीय सत्यदेवी खड्काको खेतको गहुँ त सुकेर सकियो, गार्इवस्तुलार्इ बचाउन घांसपात जुटाउन समेत कठिनाइ भइहेको उनी बताउंछिन्।

उनले भनिन्, “केही बोटनै छैन, सुकिसक्यो। पालुवा कस्तो राम्रो पलाउंथ्यो यतिबेला तर अहिले खडेरीले केही छैन”।

सरकारी अधिकारीहरु खडेरी पीडित कृषकहरूको राहतका लागि केही प्रयास भइरहेको बताउंछन्।

त्यस्ता प्रयासबारे वरिष्ठ कृषि विकास अधिकृत र्इश्वरीप्रसाद पाण्डेयले भने, “कृषि तथा खाद्य सुरक्षा सञ्जाल भन्ने एउटा समिति छ र त्यसमा हामीले छलफल गरेर खाद्य संस्थालगायतका सम्बन्धित निकायलाई सहयोगका लागि लेखेर पठाइसकेका छौं”।

खडेरीले ससाना मुहानहरू सकेपछि सामुदायिक सिंचाइ आयोजनाहरू पनि प्रभावित भएका छन्।

१५ देखि २० वटा योजनाका मुहान पूर्ण रूपले सुकेको खानेपानी तथा सरसफार्इ आयोजनाले जनाएको छ ।