‘बग्दादको स्थिति अहिले नियन्त्रणभित्र’

  • 1 मे 2016
तस्वीर कपीराइट Reuters

राजधानी बग्दादस्थित संसदभित्र शिया प्रदर्शनकारीहरु बलजफ्ती प्रवेश गरेको भोलिपल्ट इराकी प्रधानमन्त्री हैदर अल-अबादीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन्।

शक्तिशाली शिया धर्मगुरु मोक्तदा अल-सद्रका सयौं समर्थकहरु अझै संसदबाहिर बसिरहेका छन्।

यसअघि हजारौं प्रदर्शनकारीहरु उच्च सुरक्षा व्यवस्था भएको ग्रीन जोनमा प्रवेश गरेका थिए।

हप्तौंदेखिको प्रदर्शनका क्रममा पहिलोपटक उनीहरु सरकारी भवनहरु र राजदूतावासहरु भएको उक्त क्षेत्रमा पसेका थिए।

संकटकाल

तस्वीर कपीराइट Getty

पछिल्लो तनावसँगै संकटकाल घोषणा गरिएको छ।

सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रहार गरेपनि हिंसाको कुनै ठूलो घटना भएन।

प्रशासकहरुको अझ पारदर्शी नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्री अबादीले ढिलो गरेको भन्दै प्रदर्शनकारीहरु क्रुद्ध छन्।

शिया धर्मगुरु सद्रका समर्थकहरुको विश्वास छ, पार्टी र धार्मिक वफादारीमा आधारित वर्तमान सरकारभन्दा प्रशासकहरुको सरकार अलि कम भ्रष्ट हुनेछ।

प्रधानमन्त्री अबादीले चाहिँ प्रदर्शनकारीहरुलाई पछि हट्न आह्वान गरेका छन्।

साँझ परेपछि कतिपय प्रदर्शनकारी संसदहरु परिसरभित्र टेन्ट हालेर बस्न शुरु गरेका थिए।

अवरोध

तस्वीर कपीराइट epa

सामाचार संस्थाहरुका अनुसार सद्र समर्थक लडाकु समूह सराया अल-सलामले उक्त क्षेत्रको सुरक्षा चाँजोपाजो मिलारहेको छ।

त्यसअघि प्रदर्शनकारीहरुले ग्रीन जोनको केही पर्खाल भत्काउँदै सुरक्षा अवरोधहरु हटाएका थिए।

केही प्रदर्शनकारीले सांसदहरु चढेको कारमा ढुंगामुढा समेत गरेका थिए।

संसदभित्र प्रवेश गरेकामध्ये कतिपय प्रदर्शनकारीहरुले उपसभामुखको कुर्सीमा बसेर फोटो खिचाएका थिए।