संसदमा सरकारविरुद्ध उत्रिने कांग्रेसको निर्णय

  • 1 मे 2016
तस्वीर कपीराइट .
Image caption सरकारको आलोचना गरे पनि उसको विकल्प खोज्नेबारे कांग्रेसले खुलेर टिप्पणी गरेको छैन

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मंगलबारदेखि शुरु हुने संसद अधिवेशनमा सरकारविरुद्ध कडा रुपमा उत्रिने योजना तयार पारेको छ।

कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार संसदीय दल कार्य समितिको बैठकले त्यस्तो प्रस्ताव तयार गरेको हो।

उक्त प्रस्ताव सोमबार संसदीय दलको बैठकमा पेश गर्ने बताइएको छ।

नेता निधिले भने, “सरकार मित्र राष्ट्रसँगको सम्बन्ध र पुनर्निर्माणमा विफल भयो, मधेस समस्या र संविधान कार्यान्वयनमा उदासिन रह्यो, त्यस्तै बहाना बनेको नाकाबन्दी हटे पनि ग्यास र तेल लगायतका दैनिक उपभोग्य बस्तुको अभाव कायमै छ, यी सबै विषयलाई जोडदार रुपमा उठाउँछौं।”

संघीयतामा अविश्वास

सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेता निधिले प्रधानमन्त्रीलाई संघीयता विरोधीको रुपमा चित्रित गरेका छन्।

उनले भने, "प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको सिलसिलामा भएको प्रमुख दलका शीर्षस्थ नेताको बैठकमा 'संघीयतामा मलाई त पटक्कै विश्वास छैन, सबै साथीहरुले भनेकाले मानिदिएको हुँ' भन्नु भएको थियो, जुन प्रधानमन्त्रीले संघीयतामा विश्वासै गर्दैनन् त्यो प्रधानमन्त्रीले संविधान कार्यान्वयन गराउला भनेर कसरी विश्वास गर्ने?"

प्रधानमन्त्री नै संविधान कार्यान्वयन र राष्ट्रिय समस्या समाधानको बाधक भएको उनको टिप्पणी छ।

त्यो 'बाधा' फुकाउन उनले राजनीतिक छलफल पनि शुरु हुनसक्ने बताए।

प्रचण्डको काँध

तस्वीर कपीराइट Reuters
Image caption कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्रीलाई संघीयता विरोधीको संज्ञा दिए

त्यसको अर्थ सरकारको विकल्प खोज्ने सुरसार हो? भन्ने जिज्ञासामा उनले कुनै टिप्पणी गर्न चाहेनन्।

खासगरी भारत विरोधी छविको सरकारको आयु लामो नहुने अडकलबाजी नेपालमा पुरानै हो।

त्यसैले अहिले गाँइगुँई चल्न थालेको सरकार परिवर्तनको चर्चालाई सत्तापक्ष भित्रै देखिएको असन्तुष्टिले पनि थप बल दिएको हुनसक्छ।

तर सरकारको बलियो भर बनेर उभिएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले तत्कालै काँध झुकाउने संकेत दिएको देखिन्न।