आत्मघाती कारबम हमलामा दुई प्रहरीको मृत्यू

  • 1 मे 2016
तस्वीर कपीराइट AP
Image caption खबरहरुका अनुसार विस्फोट भएको समयमा गोली चलेको आवाज सुनिएको थियो

टर्कीको दक्षिणपुर्वी क्षेत्रमा एकजना आत्मघाती कारबम हमलाकारीले २ जना प्रहरीको ज्यान लिएका छन्।

उक्त बम सिरियाली सिमाना नजिकैको शहर गजिआन्तेपको मुख्य प्रहरी चौकी अगाडि विस्फोट भएको हो।

स्थानीय समयको बिहान ९ बजे भएको र थुप्रै किलोमटर परसम्म सुनिएको उक्त विस्फोटमा परेर सर्वसाधारण लगायत २० जना भन्दा बढी घाईते भएका छन्।

आक्रमण

आक्रमणकारी ठानिएका एकजना संदीग्ध ईस्लामिक स्टेट सदस्यको घरमा प्रहरीले छापा मारेका छन्।

उनका बुवालाई डिएनए परीक्षणका लागि गिरफ्तार गरिएको छ।

गएको वर्षमा टर्की माथि कुर्द लडाकु र ईस्लामिक स्टेट भनिने समूहबाट धेरै आक्रमण भएका छन्।

गजिआन्तेपको प्रहरी चौकी नजिकै गभर्नर र मेयरका कार्यालय लगायत थुप्रै सरकारी कार्यालयहरु रहेको एपी समाचार संस्थाले बताएको छ।

सिरियाको सिमाना नजिकै रहेको उक्त शहरमा आईएसका थुप्रैवटा अखडाहरु रहेको विश्वास गरिएको छ।

छुट्टै घटनामा, टर्कीको प्रहरीले ४ जना संदीग्ध आईएसका सदस्यलाई गिरफ्तार गरेको छ।

उनीहरुले आईतबारको अन्तर्राष्ट्रिय श्रमिक दिवसको परेडमाथि आक्रमण गर्ने तयारी गरिरहेको विश्वास गरिएको छ।

कारबाही

उता सन् २०१३ मा सरकार विरोधी हिंसात्मक प्रदर्शन भएको स्थल ताक्सिम स्क्वायरमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा प्रदर्शन गर्ने खोज्ने मानिसलाई तितरबितर पार्न ईस्तानबुलका प्रहरीले पानीका फोहोरा र अश्रु ग्यास प्रयोग गरेका छन्।

उक्त क्षेत्रमा २५ हजार भन्दा बढी प्रहरी खटाईएका छन्।

अर्कै प्रसंगमा, टर्कीको सेनाले पिकेके समूहका कुर्द लडाकुले गरेको भनेको एउटा आक्रमणमा परेर टर्कीका तीनजना सैनिक मारिएका छन् र १४ सैनिक घाईते भएका छन्।

सेनाको एउटा वक्तव्यमा भनिएको छ- उक्त आक्रमण मार्दिन क्षेत्रमा भएको थियो जहाँ सेनाले पिकेकेविरुद्ध कारवाही गरिरहेको थियो।