सिरियाबारे केरीको ताजा कूटनीतिक पहल

  • 2 मे 2016
तस्वीर कपीराइट Reuters

सिरियाको कमजोर र आंशिक युद्धविरामलाई सुदृढ पार्ने प्रयासस्वरुप अमेरिकी विदेशमन्त्री जन केरी जिनिभा पुगेका छन्।

त्यहाँ उनले संयुक्त राष्ट्रसंघीय विशेषदूत स्टाफान ड मिस्तुरा र साउदी अरेबिया तथा जोर्डनका विदेशमन्त्रीहरुसँग सिरियाली अवस्थाबारे वार्ताहरु गर्दैछन्।

ताजा कूटनीतिक पहल थालेका केरीले सिरियाको उत्तरी शहर अलेप्पोमा जारी हिंसा अन्त्य गराउनु पहिलो प्राथमिकता भएको बताएका छन्।

विगत १० दिनको संघर्षमा त्यहाँ २५० जनाभन्दा बढीको ज्यान गइसकेको छ।

सहकार्य

यसअघि एकजना रुसी रक्षा अधिकारीले अलेप्पोमा संघर्षविराम गराउनका निम्ति प्रयासहरु भइरहेको बताएका थिए।

अमेरिका चाहन्छ, जथाभावी बमबारी रोक्न रुसले सिरियाली सरकारमाथि दबाब देओस्।

तर रुसी र सिरियाली सरकार भन्छन्, हवाई आक्रमणले गत फेब्रुअरी महिनामा भएको युद्धविराम सम्झौतामा सहभागी नभएको नुस्रा फ्रन्ट जिहादी समूहलाई मात्र निशाना बनाइरहेको छ।

जोर्डनका विदेशमन्त्री नास्सिर जुदेहसँग वार्ता शुरु गरेका केरीले भने, “हामीले अहिले पनि रुससँग प्रत्यक्ष कुराकानी गरिरहेका छौँ, यी कठिन घडी हुन्, हामी रुसबाट सहकार्य खोजिरहेका छौँ, निश्चितरुपमा हामी चाहन्छौँ सिरियाली सत्ताले रुसको कुरा सुनोस् र रष्ट्रसंघीय सुरक्षा परिषद् मार्फत अन्तर्राष्ट्रिय समुदायले दिएको शक्तिशाली अभिव्यक्तिको जवाफ देओस्।”

सिरियाली सरकार र त्यहाँका मध्यमार्गी विद्रोहीहरुबीच भएको युद्धविराम सम्झौता पछिल्ला महिनाहरुमा विशेषगरी घेराबन्दीमा परेको अलेप्पो शहरमा तोडिएको देखिन्छ।