लेस्टर सिटी: जितपछाडिका तथ्य र तथ्याङ्क

  • 4 मे 2016
तस्वीर कपीराइट PA

प्रेमियर लिगको इतिहासमा लेस्टर सिटीको यात्रा सबैभन्दा असाधारण रहेको निर्विवाद छ।

बाजी राख्नेहरुले ५ हजार घटनामा सम्भव हुने एउटामात्रै घटनाका रुपमा लेस्टरको जितको पूर्वानुमान गरेको अवस्थामा उक्त क्लबले दुई खेल बांकी रहंदै उपाधि जितेको छ।

विभिन्न अवरोधका अतिरिक्त, रेलिगेशनमा पर्ने क्लबदेखि लिएर उपाधि विजेतासम्मको लेस्टरको रुपान्तरणबारे यहाँ तल चर्चा गरिएको छ।

एउटा वर्षले कति फरक पार्छ

सन् २०१५ मार्च २१ मा टोटनम् संगको ४-३ को हार लेस्टरका लागि जितविनाको सातौं प्रेमियर लिग थियो र नौवटा खेल बांकी रहंदा उ सुरक्षित हुन ७ अंक टाढा थियो।

अन्त्यतिर वेस्ट ह्याम युनाइटेडविरुद्धको २-१ को जितले लेस्टरलाई पुर्नर्जीवित गरिदियो र त्यसयता उसले पछाडि फर्केर हेर्नुपरेको छैन।

लेस्टरले उपाधिको यात्रा कसरी तय गर्यो?

यो सिजनको सुरुवातमा सण्डरल्याण्डविरुद्धको ४-२ को उद्घाटन जितले लेस्टरलाई खेलतालिकाको शीर्षस्थानमा पुर्यायो।

टोट्नम् र बोर्नमथ् संग बराबरी खेल्नुअघिसम्म लेस्टर दुई हप्ता शीर्षस्थानमा रह्यो।

बराबरीपछि लेस्टर तेस्रो स्थानमा चिप्लियो। त्यसलाई खेलतालिकाबाट उ तल झर्न थालेको विन्दुको रुपमा लिइयो तर त्यसो कहिल्यै भएन।

वास्तवमा सिजनभर लेस्टर छैठौं स्थानभन्दा तल झरेन।

जेनुअरी ११ मा उपाधि प्रतिद्वन्द्वी टोटनमलाई १-० ले पराजित गरेपछि लेस्टर फेरि शीर्षस्थानमा उक्लियो। बांकी सिजनभर त्यो कायमै रह्यो।

यो प्रदर्शनले लेस्टरलाई दुई खेल बांकी रहंदै उपाधि दिलायो।

उसले बांकी खेल जितेरै उपाधि प्राप्त गरेको भएपनि प्रेमियर लिगका पछिल्ला पांच विजेताको तुलनामा कम अंक ल्याएरै उसले प्रतियोगिता जित्ने थियो।

लेस्टरको सफलताको धेरै श्रेय अवश्य नै द फुटबल राइटर्स फुटबलर अफ द इयर बनेका स्ट्राइकर जेमी भार्डि र पीएफए प्लेयर अफ द इयर रियाद माहरेजलाई जान्छ।

खासगरी गोल गर्ने सवालमा उनीहरुले आफूहरुको संयोजन घातक भएको प्रमाणित गरिदिए।

यसले व्यवस्थापक क्लाउडियो रानीएरीलाई आफू चेल्सीमा हुंदा प्रयोग गरेको विधि अपनाउन सहयोग पुर्यायो।

अन्य टिमको तुलानामा लेस्टरले कम खेलाडी प्रयोग गर्यो।

के पैसाले सफलता किन्न सक्छ? अब सक्दैन

आर्सनल,चेल्सी, म्यानचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेड बाहेकको टोलीले पछिल्लो २१ वर्षमा उपाधि जितेको छैन।

टेलिभिजनबाट हुने आम्दानी बढ्दो क्रममा रहेको यो युगमा परम्परागत धनी क्लबहरुको वर्चश्व कसैले तोड्न सक्ला भनेर विश्वास नै गरिदैंनथ्यो।

प्रेमियर लिगको प्रत्यक्ष प्रसारण गर्ने अधिकार ५.१३६ अर्ब पाउण्डमा विक्री भएको थियो।

तर लेस्टरले त्यस्तो वित्तीय तर्क सबै गलत सावित गरिदियो।

उनीहरुको तलब वृद्धि गर!

डिलोइट्स् स्पोर्टस् ग्रुपले प्रकाशन गरेको, सन् २०१५ मा फुटबलमा लगानीसम्बन्धी वार्षिक समीक्षाले प्रेमियर लिगको तलबसम्बन्धी सबैभन्दा पछिल्लो विवरण दिन्छ।

उक्त समूहले सन् २०१३-१४ को सिजनसंग तुलना गरेपनि ती विवरणले लेस्टर र प्रेमियर लिगमा सबैभन्दा धेरै तलब दिने टोलीबीच ठूलो भिन्नता देखाउंछ।

त्यसयता लेस्टरको तलब खर्च ३ करोड ६० लाख देखि ५ करोड ७० लाख पाउण्ड पुगेको छ। तर त्यो अंक अझैपनि दुई सिजनअघिको म्यानचेस्टर युनाइटेडको तलब खर्चको करिब एक चौथाइमात्रै हो।

युरोपको ‘एलिट’को सूचीमा

यदि लेस्टरले प्रेमियर लिगका ठूला क्लबहरुसंग प्रतिस्पर्धा गर्ने अवसर कम पाउनुपर्छ भन्ने तर्कले काम गर्यो भने अर्को सिजनको च्याम्पियन्स लिगमा, जहां युरोपका उत्कृष्ट क्लबहरु रहनेछन्, त्यहां लेस्टरको सम्भावना के हुनेछ?

तथ्यांक हेर्दा युरोपको प्रमुख उपाधि जितिसकेका युभेन्टस र प्यारिस सा जमान तथा उपाधि जित्ने संघारमा रहेको बायर्न म्युनिखभन्दा लेस्टर निकै पछाडि छ।

पहिलोपटक उपाधि जित्ने पछिल्ला विजेताहरु

सन् १९७८ मा नटिंघम फरेस्टले जित हात पारेयता इंग्लिश प्रेमियर लिगको उपाधि प्रथमपटक जित्ने लेस्टर पहिलो टोली बनेको छ।

युरोपका अरु प्रमुख लिगमा झन् पछिल्लोसमय पहिलोपटक जित्ने धेरै विजेताहरु छन्। तर कुनै उपाधिविहीन टोलीले इटलीमा सफलता पाएको २५ वर्ष भइसकेको छ।

लेस्टरको यात्रा कसरी सामाजिक सञ्जालको चर्चाको विषय बन्यो

ट्वीटरमा लेस्टरका ५ लाख १९ हजार ‘फलोअर्स’ छन्। त्यो भनेको आर्सनलको भन्दा ७० लाख, म्यानचेस्टर सिटीको भन्दा २७ लाख र टोटनमको भन्दा ९ लाख कम हो।

तर उपाधिको यात्रा तय गर्दै गर्दा प्रतिस्पर्धीहरुलाई पछि पार्दै लेस्टर सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।

मे २ मा उनीहरुले उपाधि जितेको दिन त्यो चर्चा सामान्य दिनभन्दा निकै माथि पुग्यो।