बजेट तथा नीति कार्यक्रम ल्याउन देउ: एमाले

  • 4 मे 2016
तस्वीर कपीराइट parliament nepal

सत्तारुढ एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री केपी ओलीको साटो आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गरेपछि एमालेले कमसेकम बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन अनि बाँकी विषयमा सहमति गरी अघि बढ्न आग्रह गरेको छ।

अकस्मात विकसित राजनीतिक घटनाक्रम अन्तर्गत बुधबार बिहान पार्टी पदाधिकारीको बैठकमार्फत त्यस्तो संकेत दिएको एकीकृत माओवादीले बेलुकी त्यसै विषयमा स्थायी समितिको बैठक डाकेर निर्णय गरेको छ।

अनपेक्षित

नयाँ संविधानप्रति व्यक्त असन्तुष्टि र त्यसैको आडमा भारतसंगको सीमामा भएको नाकाबन्दीमाझ असोज २४ गते गठन भएकै दिनदेखि प्रधानमन्त्री ओलीको सरकारको आयुबारे प्रश्न उठेकै थिए।

त्यसमाथि प्रमुख प्रतिपक्षको भूमिकामा ओर्लिएको संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको महाधिवेशनपश्चात ओली सरकार विस्थापित हुने अड्कलबाजी नचलेका होइनन्।

तर बुधबार भएको घटनाक्रम भने अलि अनपेक्षित रहे।

केही दिन अगाडीसम्म सरकारको नेतृत्व परिवर्तन गर्दैमा समस्या समाधान नहुने भन्दै आएका प्रचण्डले बुधबार बिहानै आफुलाई कांग्रेसले सरकारको नेतृत्व लिन प्रस्ताव गरेको र त्यसका निम्ति पहल थाल्ने जानकारी ओलीलाई दिए।

बुधबार बेलुकी बसेको पार्टीको स्थायी समितिको बैठकले त्यस्तै निर्णय ग-यो।

“हामीले एमालेको सरकार बनाउन तीन पटक सहयोग गरिसक्यौं। अब अहिले हाम्रो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमति बन्ने स्थिति देखिएका बेला हामीलाई सहयोग गर्न एमालेलाई आग्रह गरेका हौं,” पार्टी प्रवक्ता दिनानाथ शर्माले भने।

सात महिनादेखि आफुलाई साथ दिंदै आएको दलले अकस्मात लिएको निर्णयबाट छक्क परेको देखिएको नेकपा एमालेले बुधबारै दिउँसो स्थायी समितिको बैठक गरी कमसेकम बजेट र नीति तथा कार्यक्रमसम्म सहयोग गर्न आग्रह गरेको छ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भने, “बजेट अनि नीति तथा कार्यक्रम ल्याउन लागिएको बेला यस्तो विषय उठ्नु एकदम गलत हो। कमसेकम हामीले बजेट अनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउनु पर्छ। त्यसो भए संविधान कार्यान्वयन गर्न बाँकी विषयमा सहमतिका साथ अघि बढ्न हामी तयार छौं।”

कांग्रेसको प्रस्ताव

संविधान कार्यान्वयन र पुनर्निर्माणमा परिणाममुखी कार्य अगाडि बढाउन भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको एकीकृत माओवादीले उल्लेख गरेको छ।

वर्तमान सत्ता समीकरण भत्काउन प्रचण्डलाई फकाउने कसरतमा लागेको देखिएको कांग्रेसले बुधबार आफ्नो उक्त अभियानमा साथ र सहयोग दिन हाल आन्दोलनरत तराई केन्द्रित दलहरुसंग समेत छलफल गरेको छ।

यो कसरत पूर्व एकीकृत नेकपा माओवादीसंग केही समझदारी भइसकेको बताउने कांग्रेस नेता गोपालमान श्रेष्ठ उक्त कुराकानीमा समेत सामेल थिए।

उनले भने, “यो ओली सरकारलाई बाईबाई गर्न उनीहरु राजी छन्। अन्य विषयको हकमा भने उनीहरुले उठाएका सवालमा के हुन्छ त्यसपछि मात्रै जवाफ दिनसक्ने उनीहरुले बताएका छन्।”

नयाँ संविधान बनेलगत्तै बनेको वर्तमान सरकार रहुञ्जेल खासगरी तराई मधेशको विश्वास जित्न कठिन हुने र त्यसले नयाँ संविधान कार्यान्वयन अड्कने कतिपयको विश्लेषण भइरहँदा अब बन्ने सरकारले ती आन्दोलनरत दलहरुको चित्त बुझाउन सक्ने हो वा होइन भन्ने प्रश्न टड्कारो छ।

त्यसमाथि उनीहरुको असन्तुष्टि सम्बोधन गर्न आवश्यक पर्न सक्ने संविधान संशोधन गर्न एमालेको साथ रहिरहन अनिवार्य देखिन्छ।

यी दुई चुनौतीका माझ शुरु भएको नयाँ सरकार निर्माणको कसरतले पुन: बजेट निर्माण, पुनर्निर्माण र आर्थिक विषयलाई भने ओझेलमा पार्ने ठानिएको छ।