‘सार्क क्षेत्रका श्रमिकका लागि एकै विधि’

  • 4 मे 2016
तस्वीर कपीराइट none

काठमाण्डूमा भइरहेको दक्षिण एसियाका आठ राष्ट्रका श्रम तथा रोजगार सम्बन्धी उच्च प्रतिनिधिहरुको बैठकले सार्कका सबै राष्ट्रका श्रमिकहरुका लागि समान कार्यविधि बनाउनमा सहमति जनाएको अधिकारीहरुले बताएका छन्।

उक्त कार्यविधिलाई पाकिस्तानमा ६ महिनापछि हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनमा पारित गराउने उद्देश्य राखिएको बताइएको छ।

सार्कका आठ राष्ट्र सम्मिलित दुई दिने वैठकले दक्षिण एसियाली राष्ट्रका कामदारहरुको एकैखाले सेवा, सुविधा, नियमका सम्बन्धमा बनाइएको कार्य-योजनामा बुधबार हस्ताक्षर गरिने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

विश्व श्रम बजारमा साढे ३ करोड कामदारहरु दक्षिण एसियाबाट पुगेको तथ्यांक भएपनि भिन्ना-भिन्नै तरिकाले वैदेशिक रोजगारीमा जांदा श्रमिकहरुले अनेक खाले समस्या भोगिरहेकोले दक्षिण एसियाको एउटै कार्यविधि बनाउन लागिएको हो।

कोसेढुंगा

श्रम मन्त्री दीपक बोहोराले नयाँ सहमति सार्क राष्ट्रका कामदारको हकमा कोसेढुंगा हुने बताए।

उनले भने, "भोलि हामी सबैले यी, यी अधिकारहरु श्रमिकको हुनुपर्ने, समय, तलब तालिका यस्तो हुनुपर्ने भनेर यदि हामीबीच सहमति भयो भने जुन राष्ट्रमा हाम्रा श्रमिक काम गर्न जान्छन्, त्यहाँ कुनै समस्या नहुने भयो नि।"

तस्वीर कपीराइट other

काठमाण्डूमा डेढ वर्षअघि भएको १८ औं सार्क सम्मेलनमा आप्रवासन सम्बन्धी विषयलाई घोषणापत्रमा समावेश गरिएको थियो।

एकरुपताको यो कार्यविधिलाई विभिन्न चरणमा छलफल गरेर अर्को सार्क सम्मेलनमा पारित गरिने लक्ष्य राखिएको जनाइएको छ।

बैठकमा सहभागी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, "यी सिफारिसले विभिन्न चरणहरु पूरा गरेर छिटो आधिकारिता पाउने भनेको अब हुने सार्क सम्मेलनमा हो।"

१९ औं सार्क सम्मेलन ६ महिनापछि पाकिस्तानको इस्लामावादमा हुँदैछ।

उक्त कार्यविधि बनेपछि त्यसले श्रमको गन्तव्य राष्ट्रहरुसंग श्रम सम्झौता गर्न सहयोग पुग्ने तथा श्रमिकहरुको असमानता हट्ने र कामदार ठगिने क्रम रोकिने विश्वास बैठकमा सहभागी अधिकारीहरुले राखेका थिए।