‘सरकार ढाल्न सघाउने तर सामेल नहुने’

  • 5 मे 2016
तस्वीर कपीराइट PTI

असन्तुष्ट तराई केन्द्रित दलहरुले वर्तमान सरकार ढाल्नमा कांग्रेस र एकीकृत माओवादीलाई समर्थन गर्ने तर अब बन्ने भनिएको सरकारमा सामेल नहुने बताएका छन्।

एकिकृत माओवादी र नेपाली कांग्रेसको गठवन्धनमा बन्ने तयारी गरिरहेको नयाँ सरकारको संख्याको जोड घटाउमा तराई केन्द्रित दलहरुको आवश्यकता नपर्ने बताएपनि कांग्रेस गठवन्धनले तराई केन्द्रित दललाई सरकारमा सामेल गराउन प्रयास हुने बताइएको छ।

लामो समयदेखि आन्दोलनरत तराई केन्द्रित दलहरुसंग बुधवार छलफल गरेको नेपाली कांग्रेसले उनीहरुको माग पूरा गर्ने भन्दै सरकारमा सामेल हुन आमन्त्रण गरेको थियो।

तर ती दलका नेताहरुले सरकारमा जाने कुनै मनशाय नभएको स्पष्ट पार्दै संविधान संशोधन हुनुपर्ने आफ्नो अडान यथावत रहेको बताएका छ्न्।

'मुद्दा'

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, "हामी सरकारमा त्यतिबेला सम्म जांदैनौ जबसम्म संघीय गठवन्धनले उठाएका मुद्दा संयुक्त मधेसी जनअधिकार फोरमले उठाएका मुद्दाको संबोधन हुंदैन। यो स्पष्ट छ।"

एकीकृत माओवादी र नेपाली कांग्रेसको गठवन्धनमा नयाँ सरकार निर्माणको खेल सुरु भएपछि त्यसमा सहमत देखिएका तराई केन्द्रित दलहरु सरकारमा जान सक्ने अनुमान गरिएको थियो।

तर सरकारमा नजाने विषयमा एकमत देखिएका दलका नेताहरुले पहिल्यै प्रतिवद्धता जनाइएको ११ बुंदामा संशोधन हुनुपर्ने मागमा आफूहरु अडिग रहेको दोहोर्याएका छन्।

तस्वीर कपीराइट subha narayan yadav

बारम्बार धोका खाएकोले माग पूरा नभएसम्म कसैमाथि विश्वास गर्न नसकिने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बताउछन्।

'धोका'

उनले भने," मौखिक प्रतिवद्धता त के लिखित प्रतिवद्धता नै आएपनि त्यो पूरा नभएसम्म हामी सरकारमा सामेल हुने विषयमा सोच्दैनौं।"

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले तराई केन्द्रित दलहरुको माग सम्बोधन गर्ने बताउंदै उनीहरु सरकारमा सामेल हुने विश्वास व्यक्त गरेका छन्।

उनले भने," उनीहरुले कांग्रेस र एकिकृत माओवादी बसेर आफ्नो माग पूरा हुन्छ भने सरकारमा बस्ने बारेमा सोच्ने बताएका छन्।"

विगतमा नाका अवरोध, राजमार्ग बन्द जस्ता आन्दोलनका कार्यक्रम गरेका तराई केन्द्रित दलहरुले पुन: आफ्नो दोस्रो चरणको आन्दोलन सार्वजनिक गरिसकेका छन्।